हावाहुरीले छाना उडाएपछि पठनपाठनका लागि समस्या

हावाहुरीले छाना उडाएपछि पठनपाठनका लागि समस्या

सल्यान : हावाहुरीले विद्यालयको छाना उडाएपछि जिल्लाको एक विद्यालयमा पठनपाठनका लागि समस्या भएको छ । विद्यालयको अफिसमा राखेर विद्यार्थी पढाउने गरिएको छ ।

जिल्लाको शारदा नगरपालिका ५ रानीकोटमा रहेको सरस्वती विद्या मन्दिर प्राथमिक विद्यालयमा हावाले छाना उडाएपछि शिक्षक र विद्यार्थी एउटै कोठामा बस्दै आएका हुन् ।

गत जेठ २८ गते आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएपछि कक्षा कोठाको अभावमा विद्यार्थीलाई विद्यालयको कार्यालयमा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ।

कक्षा ३ मा पढ्ने विद्यार्थीलाई अफिसमै राखेर पढाउँदै आइरहेको विद्यालयका प्रधानाध्यापक मोहनलाल विष्टले बताए। दिउँसो गर्मी धेरै हुने भएपछि खुला आकाशमुनि विद्यार्थीलाई राखेर पढाउन समस्या भएपछि अफिसमा राखेर पढाउँदै आइरहेको उनको भनाई छ।

भवनको छाना राखिदिन माग गर्दै शारदा नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कुनै सुनुवाई नभएको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया