बढ्दो महंगी घटाउन सुर्खेतमा बजार अनुगमन

बढ्दो महंगी घटाउन सुर्खेतमा बजार अनुगमन

सुर्खेत : सुर्खेतमा बजार अनुगमन गरिएको छ । इन्धनको मूल्य एक्कासी बढेपछि खाद्यान्न, औषधि र सेवामा गरिएको मूल्यवृद्धि घटाउन देशभर एकैसाथ नियमन निकाएहरुले बजार अनुगमन गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेका पेट्रोल पम्प, सुनचाँदी पसल, नास्ता पसल, मानिकेज लगायतका पसलहरुको अनुगमन गरिएको हो ।

बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रणका लागि अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरेर जानकारी दिएका थिए ।

सोही निर्देशनका आधारमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, गुणस्तर तथा नापतौल बिभाग, नेपाल आयल निगम, जिल्ला प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायत संघ, प्रदेश र स्थानीय तहका सबै संयन्त्रहरुद्धारा संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।

बजार अनुगमनका क्रममा विगतमा भएका अनुगमनको क्रममा दिईएको सुझावहरुको कार्यान्वयन भए नभएको, कुराहरुलाई ध्यान दिई मालसामानहरुको विक्रि वितरण गर्न सुझावहरु दिईएको तथा नापतौल मेसिन, पेट्रोलियम पदार्थको गुणस्तर मापन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयले निरन्तर अनुगमन गरिरहेको र आज मन्त्रालयको निर्देशनमा बजार अनुगमन गरिएको हो । उनले भने,  ‘आज देशभर एकसाथ अनुगमन भैरहेको र सुर्खेत आगामी दिनमा पनि अनुगमन हुनेछ । उपभोक्तालाई मूल्यवृद्धि तथा कालोबजारीबारे सचेतना जगाउने र व्यापारीलाई नियम तथा मापदण्ड अनुसार सामाग्री बिक्री बितरण गर्न सचेत बनाउने बजार अनुगमनका गरिएको हो।’

अनुगमन गर्दा पाईएका म्याद गुज्रेका र अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।

 

प्रतिक्रिया