करारका कार्यरत कर्मचारी हटाउँदै स्थानीय तह

करारका कार्यरत कर्मचारी हटाउँदै स्थानीय तह

दैलेख : कर्णालीका स्थानीय तहहरुले करारका कर्मचारी हटाउन थालेका छन् । २०७४ मा भएका स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिको कार्यकालमा नियुक्त भएका करारका कर्मचारीहरुलाई हटाउन थालिएको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गर्न थालेका हुन् ।

दैलेखको ठाटीकाँध गाउँपालिकाले करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको असार २८ गते बसेको बैठकले गाउँपालिकाबाट तलब भत्ता भुक्तानी भइई करारमा कार्यरत कर्मचारीहरुको साउन १ गतेबाट करा सम्झौता नविकरण नगर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद उपाध्यायले बताए । गाउँपालिकाले गरेको पत्राचारमा करार सम्झौता थप नहुने निर्णय भएकालेले अर्को निर्णय नभएसम्मको लागि कार्यालयमा हाजिर भई कामकाज नगर्न भनिएको छ । हाजिर भएमा गाउँपालिकाबाट तलब भत्ता भुक्तानी नहुने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए ।

उनका अनुसार प्राविधिक शाखाको सव–इन्जिनियर र तत्कालिन जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेक सबै, पोषण शाखाका सबै, उद्यम विकास शाखा (शाखा प्रमुख बाहेक), हलुका सवारी चालक सबै (एम्बुलेन्स चालक बाहेक), ईलेक्ट्रीसियन कर्मचारी, सामुदायिक स्वास्थ्य इकाई प्याडुलीका इन्चार्ज र ज्यालादारीमा कार्यरत सबै कर्मचारीको करार सम्झौता नहुने निर्णय भएको हो ।

कालिकोटको शुभकालिका गाउँपालिकाले पनि करारका कर्मचारी हटाएको छ । असार ११ गते बसेको गाउँ सभाको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाको खुद समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा कार्यरत कर्मचारीहरुको साउन १ गतेबाट करार सम्झौता नविकरण नहुने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताए ।

गाउँपालिकाले करारमा कार्यरत अहेव, अनमी, ल्याब कर्मचारी, कार्यालय सहयोगी, स्वास्थ्य शाखाका हेअ, अहेव, अनमी, नर्स, कार्यालय सहयोगी, वडा कार्यालयका कार्यालय सहयोगी, गाउँपालिकाको कार्यालयमा करारमा कार्यरत सबै कर्मचारीको करार सम्झौता नविकरण नगर्ने भएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार गाउँपालिकाको अनुदानबाट तलब खाने सबै तहका करारका शिक्षक र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कृषि तथा पशु शाखाका पालिका अनुदानका प्रास, नाप्रास र कार्यालय सहयोगीहरुको समेत करा सम्झौता नगर्ने निर्णय भएको छ ।

प्रतिक्रिया