भड्किलो बन्यो तीज, गाउँदेखि सहरसम्म विकृत

          |   प्रकाशित मितिः शनिबार, भदौ ११, २०७९     ::: 109 पटक पढिएको   |  

काठमाडौँ :  ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै छिन्, पाल्पा रामपुरकी भगवती देवकोटा ।

माइतीघरमा आमाको काखमा बसेर दर खादै आँगनीमा मादलको तालमा घन्केर नाच्ने रहर उनलाई नभएको होइन । तैपनि समय र परिस्थितिले कर्मघरमा नै परिवारसँग बसेर खुशीयालीका साथ तीज मनाउँदै छिन् ।

“पहिला–पहिला तीजमा हरेक वर्ष छोराछोरी कोही काखमा, कोही डो¥याउँदै दिनभरको बाटो वर्षे भेल पनि नभनी खोला, नदीनाला तरेर पुगिन्थ्यो, अहिले त आफ्नै घरकै कामधन्दाले गर्दा माइती जानै भ्याइँदैन, माइती नगए पनि घरमै तीजकै रमाइलो गरेर मनाउने तयारी छ”, उनले भनिन् ।

घर व्यवहार, छोराछोरीको पठनपाठन सबै आफ्नै काँधमा आएपछि तीजलाई भनेर माइतीमा हिजोआज कमै जाने गरेको उनी बताउँछिन् । बेलाबेलामा भने उमेर ढल्कदै गएका बुबाआमालाई भेटघाट गर्न जाने गर्छु तर तीज पर्व नै भनेर माइती जाने हिजोआज फुर्सद नै मिल्दैन । घरमा सबै सुखसयल, धन सम्पत्ति भए पनि छोरीलाई तीजमा माइतीकै झल्को भने उत्तिकै आउने उनी बताउँछिन् ।

उनी भन्छिन्, “अब बुढ्यौलीले छुँदै गयो, दुई÷तीन दिन माइती गएर बस्दा सबै घर बिग्रन्छ कि भन्ने पिरलो हुन्छ, बिहे भएका सुरुका वर्षमा त सधैँजसो तीजमा माइती गइएकै थियो, बाबाको तीनतले घर छोरीलाई के काम लाग्छ र रु भने झै आफ्नै घरमा सुख दुःखसँग रमाउनु पर्ने छोरीको कर्म रहेछ ।”

पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपथ्र्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ । सतासी वर्षीय विष्णुमाया देवकोटालाई यसपटक पनि तीजमा भाइले माइती बोलाए पनि उमेर अवस्थाले गर्दा माइती जानसक्ने अवस्था छैन ।

बद्री पंगेनी र कविता अर्यालले यसपटक बजारमा ल्याउनुभएको ‘सुखदुःख गरौँला दिदी आउँ है खुरुक्क, तीजमा भाइले बोलायो मत भए फुरुक्क’ बोलको गीत उहाँको जीवनमा मेल खाएको छ । उनलाई माइतीघरमा बाल्यकालमा तीजमा छम्केर नाचेको पल अहिले ताजै छ ।

“भाइले फोन गरेर बोलाउँदा मन फुरुक्क भएको छ, माइतीघरमा गएर दिदीभाइ बसेर मीठो मसिनो खाने, सुखदुःख गरेर बस्ने चाहना छ तर जान सकिदैन, दिदीभाइ फोनमै सुख दुःख गन्थनमन्थन गरेर तीज मनाउन थालेको धेरै वर्ष भइसक्यो”, ज्येष्ठ नागरिक देवकोटाले भनिन् ।

हरितालिका तीज महिलाको दुःखसुख र वेदना बोल्ने चाड हो । तीजमा माइती मावली आफन्ती कहाँ गएर भेटघाट मीठो मसिनो खाने, गीत गाएर नाच्ने चलन छ । घरको कामधन्दा, विभिन्न वाध्यता परिस्थितिले तीजमा माइती जान नपाउँदा मनभित्रै पीडा लुकाएर कतिपय महिला बस्न बाध्य छन् । हुन त पहिलेको तीज र अहिलेको तीजमा धेरै फरकपन आइसकेको छ । तीजमै भनेर माइती, मावली नै जाने चलन पनि कम हुँदैछ ।

भाइले फोन गरेर गत वर्ष पनि तीजमा आइनन् । यसपटक जसरी पनि आउनुहोला दिदी भन्दैछ तर आमा नभएको माइतीघर नरमाइलो लाग्ने गरेको सीता भण्डारीले दुःखेसो पोखिन् । उनी भन्छिन्, “म नौ वर्षको उमेर हुँदा आमाले हामीलाई छोडेर अन्यत्र जानुभयो, सानासाना भाइबहिनी हुर्काउने पढाउने सबै मेरो जिम्मा थियो, भाइले आमा सरह नै माया गरे पनि झल्को आमाकै बढी आउँदो रहेछ ।”

तीजमा आमा नहुँदा छोरीलाई साह्रै पीडादायी हुन्छ । आमाले गर्ने माया, स्नेह, आमाको हातले पकाएको मीठा परिकार चाडपर्वका समय बढी झझल्को आउँछ । ‘बाबा पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ, चाहिँदो रहेछ छोरीलाई आमा बरिलै ! ’भने झैँ माइतीमा सबैको मायाममता पाए पनि आमा नहुँदा छोरीलाई घर नै रित्तोजस्तो अनुभूति भएको रितु गैरे बताउँिछन् । तीजमा विशेषगरी छोरीले कर्मघरमा भोगेका दुःख सुखका कुरा, सासूबुहारीका जुहारीलाई ठट्यौली पारामा गीतका माध्यमबाट पोख्ने चलन छ ।

पहिले ‘सुन्नुहोला दिदीबहिनी कस्ता आए जमना, बुहारीले सुख देलान् भन्दै नभन’ जस्ता खालका गीतहरु बढी सुनिन्थ्यो भने अहिले समय र बढ्दो प्रविधिको प्रयोगलाई जोडेर पुरानै शैलीमा पनि यदाकदा केही गीतहरु भने सुन्न पाइन्छ । गैरेले सुनाइन्, “अचकालका बुहारीको कति गरम् बहिन मोबाइल र टिकटकभन्दा अर्थोक भएन ।” हिजोआज परिमार्जित भएर यस्ता खालका गीत गाउँघरमा पाकापुस्ताले तीजमा गाउने गर्छन् । पहिलाजसो भने पुराना मौलिक परम्परागत गीत भने अहिले कमै सुन्न पाइन्छ ।

हिन्दूहरुले मनाउने विभिन्न पर्वमध्ये महिलाको महान् पर्वका रुपमा हरितालिका तीजलाई मनाउँदै आइएको छ । यो चाड महिलाकोे स्वतन्त्रताको पर्व पनि हो । पहिलेका तीज गीत सुन्दा महिलाका धेरै आवाज मात्रै सुनिन्थे । त्यतिबेलाका गीतसङ्गीतले नारीका दुःख वेदनालाई उजागर गरेको हुन्थ्यो तर अहिले भने तीज गीतमा महिला र पुरुषको आवाज बराबरी जस्तै सुन्न पाइन्छ ।

अहिले बजारमा आएको विष्णु माझीको ‘ए आम्मै जुरेन साइत जाम्ला भनेको मै छोरी माइत, जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुदै रुदै बेंशी मेलैमा’ । गायिका मञ्जु पौडेलको ‘घन्किदे मादलु खरी झरे झर्ला जसोपरे पर्ला, बाबाको आँगनी धुलो उडाम्ला’ यिनै गीतले सामाजिक सञ्जाल, गाउँघरमा तीजको माहोल तताएको छ ।

भड्किलो बन्दै तीज

हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायामको धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, करेला जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो ।

बुढापाका अनुसार केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्दो छ ।

राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार व्रतबस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्युमा चामललाई भुटेर बनाइएको दरले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्छ ।

अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटल, रेष्टुरेण्टमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको लहर छ । पाल्पाका विभिन्न होटल, पार्टीप्यालेसमा जनैपूर्णिमा पर्व सुरु भएदेखि नै दिनहुँ समूहमा दरखान जाने महिलाको आकर्षण बढ्दो छ । यहाँको पार्टीप्यालेस, रेष्टुरेन्टमा एक दिनमा पाँचदेखि सात समूहसम्म दरखान जाने गरेको पाइएको छ । दरखाने नाउँमा तडकभडक देखिन थालेको छ ।

हरितालिका तीजको महत्व

तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गर्ने गरिन्छ ।

नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ ।

भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीले बाबु आमा, दाजुभाइ छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दरखाने गरिन्छ ।

यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठामीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरालगायतका खाना, फलफूल खाने गरिन्छ ।

आधुनिकता सँगसँगै पछिल्लो समय भने यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । माछा मासु, मिठाइलगायतका परिकारको प्रयोग बढ्दो छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रतबस्नुपर्ने भएकाले दर खाने दिन राति अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।

खासगरी यसमा स्त्रीहरुले पतिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिला बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रतबस्ने गर्दछन् । बेलुकीपख गाउँघर र छिमेकका महिला भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

निर्जला व्रतभनिए पनि आजभोलि महिला मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिला नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रतबसिन् ।

पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।

यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलालाई मीठामीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलालाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता नारी सुयोग्य वरको आशा राखी व्रतबस्छन् ।

व्रतको समयमा महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रतअन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ ।

यस दिन पानीसम्म पनि नखाइ व्रतबस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पूजा आराधनापश्चात् फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

तीज पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यताअनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।

यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा तीज पर्वको गहन महत्व रहेको छ । रासस



Leave a comment

Your email address will not be published.


*