गाडीमा यात्रा गर्दा किन हुन्छ बान्ता ? यस्ता छन् रोक्ने उपाए

गाडीमा यात्रा गर्दा किन हुन्छ  बान्ता ? यस्ता छन् रोक्ने उपाए

काठमाडौँ :  दसैँ नजिकिदै छ । उपत्यका छाडेर धेरैजना आफ्नो जन्मथलो फर्किन्छन् र फर्किने क्रम सुरु भइसकेको छ । यसरी आफ्नो घर फर्किँदा हामीमध्ये धेरैले गाडीमा लामो यात्रा गर्नुपर्छ ।

कतिपयलाई गाडी सम्झने बित्तिकै रिंगटा चल्न थाल्छ । बान्ता हुन थाल्छ । यात्रामा आइपर्ने यस्तै समस्याको कारण धेरैजना गाडीमा लामो यात्र गर्न रुचाउँदैनन् । यो प्रायको साझा समस्या हो । त्यस्तै, गाडीमा यात्रा गर्दा टाउको दुख्ने, पेट बटारिने, जीउ दुख्ने आदि समस्या पनि हुन्छ । यसलाई ‘मोसन सिकनेस’ वा ‘ट्राभल सिकनेस’ भनिन्छ । मोसन सिकनेस कुनै रोग होइन । यसले लामो समय असर गर्दैन । तर, यात्राभर धेरैका लागि यो निकै ठूलो समस्या हुन्छ ।

गाडीमा यात्रा गर्दा सीटमा बसेर विभिन्न दृश्यहरू एउटा गतिमा देखिन्छ । यसले आँखा, कान र मस्तिष्कलाई असन्तुलित बनाइदिन्छ । गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्दैनन् । जसकारण ‘मोसन सिकनेस’ हुन्छ । त्यसैले गाडी चढ्दा झ्यालबाट नजिकभन्दा टाढाको दृश्यमा ध्यान केन्द्रित गर्नुपर्छ ।

सोझो बाटोमा गाडी गुड्दा खासै असहज हुँदैन । तर, घुमाउरो, उकालो र ओरालो बाटोमा यात्रुलाई असहज महसुस हुन्छ । गाडीको धुँवा, चुरोटको धुँवा, भीडभाड र गुम्म हुँदा पनि धेरैलाई बान्ता हुन्छ ।

त्यसका लागि गाडी चढ्नुभन्दा अगाडि नै विभिन्न उपाय अपनाउन सकिन्छ । गाडी चढ्नुभन्दा एक घण्टाअगाडि बान्ता नलाग्ने औषधि खान सकिन्छ ।

यात्रा गर्नुअघि पेटभरि टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन । त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन ।

त्यस्तै, धेरैजनाको बानी यात्रामा किताब पढ्ने, मोबाइल चलाउने हुन्छ । यस्तो अवस्थामा पनि रिंगटा र बान्ताको समस्या देखिन्छ । बान्ता हुने मान्छेले सकभर अगाडिको सिट रोज्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म हल्का भोजन गर्नुपर्छ । दुग्धजन्य पदार्थ, अमिलो र गुलियो खानु हुँदैन ।

सवारीमा यात्रा गर्दा आखिर किन हुन्छ वान्ता ? 
टाढाको यात्रा गर्दा वा धेरै घुम्तिको बाटोमा यात्रा गर्दा मानिसलाई वान्ता हुन्छ । तीव्र गतिमा रहेको सवारीभित्र मानिसले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा वान्ता हुनसक्छ ।

यसबाट कसरी बच्ने ?
१. वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,
२. यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,
३. अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,
४. ल्वाङ्ग खाने,
५. कागती र पुदिनाको जुस पिउने,
६. सुकमेल खाने,
७. यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,
८. यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

प्रतिक्रिया