कालिकोटको खुलालुमा पक्की पुल बन्यो तर सडक अधुरै

कालिकोटको खुलालुमा पक्की पुल बन्यो तर सडक अधुरै

सुर्खेत :  कर्णाली करिडोरअन्तर्गत कालीकोट नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पक्की पुल बने पनि किनाराका सडक अधुरै रहेका छन् । पुल बनेको एक वर्ष बित्न लाग्दासमेत किनाराका सडक बन्न सकेका छैनन् ।

कर्णाली राजमार्गबाट पुल जोड्ने सडक डोजर जानका लागि मात्र बनाइएको सडकमा पूर्णरूपमा सडक नबन्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अहिले साना बोलेरो र साना मिनी मालबाहक ट्रक चले पनि ठूला बस र ट्रक चल्न ग्राहो हुने गरेको सवारीधनी कालीकोट नरहरिनाथ गाउँपालिका–१ कोटवाडाका नेत्र विष्टले बताए । “मालबाहक ट्रक चलाउन निकै अप्ठयारो रहेको छ”, उनले भने, “दुर्घटनाको जोखिम निकै छ ।”

पुल किनाराको सडक नबन्दा कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए । “धेरैपटक दुर्घटना भइसक्यो, पुल बने पनि नदी किनाराको वारिपारि सडक बन्न सकेको छैन”, उनले भने, “कर्णाली राजमार्गबाट पुलसम्मको सडक बनाउनका लागि विभिन्न निकायसँग पहल थालिएको छ ।”

कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने अध्यक्ष विष्टको भनाइ छ । “कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन्”, उनले भने, “यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।”

प्रतिक्रिया