नारायण नगर स्तरिय बाल क्लब गठन

नारायण नगर स्तरिय बाल क्लब गठन

दैलेख : नारायण नगरपालिका कार्यवाहक नगर प्रमुख रेशमबहादुर थापाले बालिकाको उचित शिक्षादीक्षाको लागि सरकारले लगानी बढाउनुपर्ने बताएका छन् । एभरेष्ट क्लवले आयोजना गरेको नगर स्तरीय बाल क्लव भेलामा उनले बालबालिकाहरु सुमार्गमा लगाउन परिवारजनले पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा जिससका पूर्व सदस्य बालकृष्ण केसीले बाल अधिकार महासन्धीले तोकेको अनुसार बाच्न पाउन, संरक्षण, विकास र सहभागिताको अधिकार प्रत्याभूती गराउन राज्यको दायित्व हो, यसको निम्ति गैरसरकारी संस्थाहरुसंग सहकार्यता बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापा, नारायण नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापा, एभरेष्ट क्लवको बाल अधिकार परियोजनाका कार्यक्रम संयोजक तेजबहादुर चन्द, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले पनि बाल क्वल गठन र परिचालन विषयमा सहजीकरण गरेका थिए ।

बाल क्लव भेलाले नारायण नगरपालिकाका ११ वटै वडाबाट प्रतिनिधित्व हुने गरी मधुकुमार थापाको अध्यक्षतामा १५ सदस्यीय नगर स्तरीय बाल क्लब गठन गरेको छ । क्लवको उपाध्यक्ष बसन्त मावि किमुगाउँकी आरती गौतम, सचिवमा महेन्द्र मावि सोतकी डिलमाया थापा, सहसचिव नेपाल राष्ट्रिय मावि कालिमाटीका जीवन बस्नेत र कोषाध्यक्ष पदमा नेपाल राष्ट्रिय मावि कालिमाटीकै आस्था सुनारलाई सर्वसम्मतिबाट चयन गरिएको छ ।

भेलाले जनता मावि कोटथाप्लाका जीवन नेपाली, रेडक्रस मावि भूर्तीकी दीक्षा न्यौपाने, सरस्वती माव तर्ताङका ृष्टि कार्की र सुहानी बिश्वकर्मा, हिमालय मावि भवानीका दुई विद्यार्थीहरु कल्पना बस्नेत, नारायण बोगटी, नेपाल राष्ट्रिय मावि कालिमाटीकी मनिषा नेपाली, त्रिभुवन मावि दैलेख बजारका मिराज सदस्य चयन गरेको छ । एक जना अपाङ्गता समस्या भोगिरहेका बालबालिकाको प्रतिनिधित्व गराई १५ सदस्यीय समिति कायम गर्ने निर्णय भएको छ ।

एभरेष्ट क्लवको ‘नागरिक समाज संस्था सवलीकरण परियोजना’का कार्यक्रम संयोजक सीता नेपालीले सन् २०२२ मार्चदेखि सुरु भएको यो परियोजना नारायण र आठबीस नगरपालिकामा सन् २०२६ डिसेम्वरसम्म ५८ महिनामा भेदभाव रहित वातावरणमा लैंगिक समानता र द्वन्द्व सम्वेदनशीलता सवाल आधारमा बालअधिकार प्रवद्र्धनका काम गर्ने जानकारी दिइन् ।

बालअधिकार प्रवद्र्धनका लागि नागरिक समाज संस्थाहरुको संस्थागत क्षमता विकास, दक्षता अभिबृद्धि, सुशासन, जवाफदेहिता र प्रभावकारिता बढाउन मद्दत गर्ने परियोजना क्रियाकलाप केन्द्रित हुने परियोजना कार्यक्रम संयोजक सीता नेपालीले बताइन् ।
परियोजनाले कार्यक्षेत्रमा बालबालिकाहरुकै समान पहुँचको सहभागिता अभ्यासबाट बाल अधिकार सवाल प्रभावकारिता बढाउन कार्यक्षेत्रका दुइटै पालिकामा वडास्तर, पालिकामा समेत बाल क्लव गठन र परिचालन गर्ने नीति अनुसार यो नारायण नगर स्तरीय बाल क्लव गठन गरिएको हो ।

आठबीस नगरपालिकामा असोज १ गते भएको बाल क्लव सञ्जालको भेलाले दिलिप थापा माझीको अध्यक्षता १९ सदस्यीय आठबीस नगरपालिका स्तरीय बाल क्वल समिति गठन गरेको छ । त्यहाँको नगर स्तरीय बाल क्लवको उपाध्यक्षमा कविता न्यौपाने, सचिव निराजन थापा, सचिवमा अस्मिता शर्मा र कोषाध्यक्ष नौरता चौलागाईंलाई चयन गरेको थियो ।

परियोजनाका बाल अधिकारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको साझेदारीमा दैलेखमा एभरेष्ट क्लव मार्फत कार्यान्वयनमा छ । सेभ द चिल्ड्रेनले यो परियोजना कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट, मधेस प्रदेशका सप्तरी, महात्तरी र सर्लाही जिल्ला समेत देशभर ६ जिल्लामा सञ्चालन गरेको छ ।

प्रतिक्रिया