कर्णालीमा आत्महत्याको चिन्ताजनक ग्राफ

कर्णालीमा आत्महत्याको चिन्ताजनक ग्राफ

सात वर्षमा १८९३ जनाले गरे आत्महत्या


सुर्खेत : २०७७ फागुनमा दैलेखको आठविस नगरपालिका ३ निमाएलकी ३५ वर्षिया सुकी बडुवालले चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्याको बाटो रोजिन् । घरेलु हिंसा सहन नसकेर उनले सन्तानसहित आत्महत्याको बाटो रोजेका विभिन्न अध्ययनहरुले देखाउँछ । घटनापछि आठविस नगरपालिका शोकमा डुब्यो ।

सल्यानको कपुरकोट गाउँपालिकाकी २१ वर्षिया कल्पना केसीले सानैमा बाल विवाह गरिन् । विवाहपछि श्रीमानको टर्चर र यातना सहन नसकेर उनले आत्महत्या गरिन् । दैलेखकी रञ्जना दसौदीको पनि सानैमा विहे गर्नु दोष भयो । श्रीमान बिदेश गएका थिए । घरमा सासु ससुरा र घर परिवारले गरेको हिंसा र दुव्र्यवहार सहन नसकेर प्राण त्यागिन् ।

यी र यस्ता प्रतिनिधि घटना मात्र हुन् । घरेलु हिंसाकै कारण कर्णालीका चेली आत्महत्याको बाटो रोज्न बाध्य छन् । घर परिवारको हिंसा, यातना र दुव्र्यवहार सहन नसकेर होस् या श्रीमानले जाँड रक्सी खाएर गरेको कुटपिट सहन नसकेर चेलीहरु आत्महत्या गर्न बाध्य छन् । आत्महत्याको बाटो रोज्नेमा पुरुषको संख्या पनि उत्तिकै छ । र, कर्णालीमा आत्महत्याको संख्यामा कमी आउन पनि सकेको छैन् । आत्महत्या गर्नेहरूको बढ्दो ग्राफ समाजका लागि चिन्ताजनक बन्दै गएको छ ।

७ वर्षमा एक हजार आठसय ९३ जनाले गरे आत्महत्या

आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ सम्म कर्णालीमा एक हजार आठ सय ९३ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । २०७२/०७३ मा दुई सय २६, २०७३/०७४ मा २२३ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै २०७४/०७५ मा २५५ जना, २०७५/०७६ मा २५० जना, २०७६/०७७ मा २८८, २०७७/०७८ मा ३६२ जना र २०७८/७९ मा २८९ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आत्महत्या गर्ने मध्ये ९ सय ८३ पुरुष, ७ सय २६ महिला, ७४ बालक, १ सय १० बालिका गरि एक हजार आठसय ९३ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्याको मुख्य कारण गरिबी, आर्थिक अभाव र घरेलु हिंसा

गरिबी तथा आर्थिक अभावले आत्महत्या गर्नेको संख्या बढ्दो पाइएको छ । प्रहरीको तथ्यांक हेर्दा पछिल्लो ७ वर्षमा गरिबी तथा आर्थिक अभावले ३ सय ८२ जनाले आत्महत्या गरेका छन् । ७७ जना दिर्घ रोगी, १ सय १ जना प्रेम असफल भएका कारण, ९६ जना नैरस्यता, १ सय ४ जना मानसिक तनाव, ५ सय ७० घरेलु हिंसा तथा पारिवारिक कलह, १०८ जना आवेशमा आएर, १ सय ५४ बैदेशिक रोजगार, १ सय ९८ सामाजिक संजाल, १ सय ३ जना जीवनमा असफलता र एक्लोपना गरि एक हजार आठ सय ९३ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्याको प्रमुख कारण घरपरिवारको कलह, वालविवाह, वेरोजगार र गोपनियता भङ्ग रहेको पाईएको छ । यि तीनवटा कारणले आत्महत्याको संख्यामा वृद्धि भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सुचना अधिकारी माधव प्रसाद श्रेष्ठको भनाई छ । ‘सानैमा वालविवाह गर्ने, पछि गएर बहुविवाह गर्ने र त्यहिबाट घरेलु हिंसा, यातना, मानसिक तनाबका कारणले आत्महत्या गर्ने गरेको देखिन्छ,’ उनले भने । आत्महत्या गर्नुमा मुख्य घरेलु हिंसा, गरिबि, अशिक्षा र जीवनस्तरमा सुधार हुन नसक्नु रहेको उनको भनाई छ ।

के भन्छन् सामाजिक अभियान्ता ?

विज्ञानको युग आएसँगै अहिलेको प्रविधिले पनि आत्महत्याका घटनामा वृद्धि भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले बताउँछन् । ‘जुन कुरा हेर्न गर्न हुन्थेन ति कुराहरुले मान्छेका मनहरु चञ्चल बनाउने, मनलाई एक ठाउँमा बस्न नदिने खालका वातावरण सिर्जना गराउनुले आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको हो,’ उनले भने, ‘आत्महत्या कम गर्नका लागि हिंसालाई कम गर्ने र मनोवल वृद्धि हुने खालका जीवन उपयोगी सिपहरु र शिक्षाका कुराहरुमा जोड् दिनुपर्छ ।’

घरायसी समस्यालाई समाधान गर्न नसकेर बालविवाह र त्यसैमा श्रीमान श्रीमतीका विभिन्न सम्बन्धका कारण पनि आत्महत्यातर्फ अगाडी धकेलिएको अधिवक्ता दुर्गा प्रसाद सापकोटाको भनाई छ । अहिले पत्येक मानिसहरुलाई मनोसामाजिक समस्याले सताएकोले पनि आत्महत्याको संख्यामा वृद्धि भएको अधिकारकर्मी सजना सुनार बताउँछिन् । ‘मनोसामाजिक परामर्शले कहिँ कतैबाट समाधान, शानत्वना, साथ र सहयोग पाएमा आत्महत्या गर्नेको संख्यामा कमी आउँछ,’ उनले भनिन्,’ ।

प्रतिक्रिया