सङ्कटग्रस्त क्षेत्रको स्थलगत अध्ययन गर्दै प्राधिकरण टोली

सङ्कटग्रस्त क्षेत्रको स्थलगत अध्ययन गर्दै प्राधिकरण टोली

जुम्ला : नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका जुम्लाका चार गाउँपालिकाको स्थलगत अध्ययन गर्न सुरु गरिएको छ ।

यही असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिराजन्य विपद्ले क्षतिग्रस्त जुम्लाको कनकासुन्दरी, सिञ्जा, हिमा, तिला र तातोपानी गाउँपालिकालाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जिओटिक इन्जिनियर पवनबाबु बास्तोला संयोजकत्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला पुगेर अध्ययन सुरु गरेको हो ।

सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामध्ये तातोपानी गाउँपालिकाकाको अध्ययन सकिएको प्राधिकरण टोलीका संयोजक जिओटिक इन्जिनियर बास्तोलाले जानकारी दिए । “सोमबारदेखि अध्ययन कार्य सुरु गरिए यता मङ्गलबार तातोपानी गाउँपालिका र बुधबार तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली, रावतवाडा र नुवाकोट गाउँको अध्ययन सकेका छौँ”, उनले भने, “मङ्गलबार १–३ वडाको सङ्कटग्रस्त घोषणा गरिएको क्षतिग्रस्तस्थलको अध्ययन पूरा भएको छ ।”

खासगरी बाढी र पहिराले क्षतिग्रस्त गाउँ, पहिरो र उच्च जोखिमको अवस्था र ती गाउँको स्थानान्तरणको गर्न सकिने भूगोललगायतका कुरामा आधारित रहेर अध्ययनमा जोड दिइएको उनले बताए । संयोजक बास्तोलाका अनुसार तिला गाउँपालिका र हिमा गाउँपालिकाको क्षतिग्रस्त गाउँ तथा स्थानको अध्ययन सकेर आज सिञ्जा गाउँपालिकामा पुगेर अध्ययन थालिएको छ ।

नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका जुम्लाका चारवटै गाउँपालिका पुगेर स्थलगत अध्ययन गर्ने जनाउँदै संयोजक बास्तोलाले सबै पुग्न नसकेका वडाहरुको क्षतिको तथ्यगत विवरण सङ्कलन गर्न सम्बन्धित पालिकाका प्राविधिकलाई समेत अभिमुखीकरण पनि गरिएकोबताए । क्षतिग्रस्तस्थलमा सम्बन्धित पालिकाका अध्यक्ष÷उपाध्यक्ष पुगेर प्राधिकरण टोलीलाई सहजीकरण गर्न सक्रिय भएको जनाइएको छ ।

मनसुनजन्य विपद्पछि कर्णालीमा आएको बाढी र पहिराबाट क्षति भएका स्थानलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपश्चात् ती क्षेत्रको क्षतिको प्रारम्भिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुम्लामा जिओटिक इन्जिनियर बास्तोला, हुम्लामा स्ट्रक्चरल इन्जिनियर देवराज पौडेल, मुगु र कालीकोटका निम्ति जिओटिक इन्जिनियरद्वय हरिश पनेरु र विराश मल्लको टोलीलाई परिचालन गरेको छ ।

प्रतिक्रिया