नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

नेपालले जित्यो युएईविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले २-१ ले जितेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेल नेपालले ६ विकेटले जितेर सिरिजमाथि कब्जा जमाएको हो । यसअघि पहिलो खेल ८४ रनले हारेको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो ।

तेस्रो खेल जित्न नेपालले १ सय ७७ रनको लक्ष्य ४ विकेट गुमाएर ४० ओभर १ बलमा पुरा गरेको हो । नेपाललाई जित दिलाउन आशिफ शेखले सर्वाधिक ८५ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले ६४ रन जोडे । एकदिवसीयमा ज्ञानेन्द्रको यो सर्वाधिक रन हो । यसअघि उनले सर्वाधिक ५६ रन जोडेका थिए ।

आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे । एकदिवसीयमा नेपालका लागि दोस्रो विकेटका लागि सर्वाधिक रनको साझेदारी हो । त्यसैगरी समग्रमा दोस्रो सर्वाधिक रनको साझेदारी समेत हो । एकदिवसीयमा सर्वाधिक १ सय २९ रनको साझेदारी रहेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन जोड्यो । युएईका लागि अलिसान सराफुले ३३ तथा रोहन मुस्तफाले २४ रन जोडे । अयान अफजल खानले ५४ रन बनाए ।

अयान र हजरत विलालले अन्तिम विकेटका ११३ बलमा ८३ रनको साझेदारी गरे । नेपालका लागि कुशल भुर्तेलले २, गुल्सन झाले २, दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए ।

 

प्रतिक्रिया