निर्वाचनको लागि खटिएका कर्मचारी माथिल्लो डोल्पामै थुनिए

निर्वाचनको लागि खटिएका कर्मचारी माथिल्लो डोल्पामै थुनिए

जुम्ला  :  निर्वाचनका लागि माथिल्लो डोल्पा खटिएका कर्मचारी उतै थुनिएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी थुनिएका छन । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धमा पर्ने २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीहरुलाई हेलिकोप्टरबाट उद्धार गर्न आग्रह गरिएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनका अनुसार मंसिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकोप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो ।

‘गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा ५११ कर्मचारी खटिएका थिए,’ उनले भने, ‘२२ केन्द्रमा खटिएका मध्ये तल्लो क्षेत्रका केही कर्मचारी आएपनि १२ मतदान केन्द्रमा खटिएका १३५ कर्मचारी थुनिएका छन ।’ आज बिहान हेलिकोप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

चिसो पनि बढ्दै गएको र उक्त क्षेत्रमा हिउँ परेकोले केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने अवस्था भएको उनको भनाई थियो । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उनले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताए । उनका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा जनशक्तिको अभावसमेत हुनेछ ।

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका १ कोवासस्थित सहिद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको जानकारी दिए । कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,’ उनले भने, ‘समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ । उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाए ।

उनका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मंसिर १ गतेदेखि चिसोमै थुनिएर बस्न बाध्य हुनुपरेको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकोप्टरबाट सारेपश्चात बाँकी कर्मचारी ल्याउने भनिएपनि हुम्ला प्रदेश ‘ख’ मा १३६ मतपेटिका सार्न गएकोले माथिल्लो डोल्पामा रहेका कर्मचारीहरुको उद्धार हुन नसकेको हो । त्यसको लागि पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया