देशभरका रैथाने बाली तथा जातको संरक्षणका लागि प्रदर्शनी

देशभरका रैथाने बाली तथा जातको संरक्षणका लागि प्रदर्शनी

काठमाण्डौ :  राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा काठमाण्डौमा रैथाने बालीको प्रदर्शनी गरिएको छ ।

देशभरका रैथाने बाली तथा जातलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागमा २७ वटा स्टलमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा मुख्यबाली धान, मकैसँगै कागुनो, जुनेलो, कोदो, फापर, दलहन बाली राखिएको छ ।

नेपालका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको संरक्षण र तिनको प्रवर्द्धनका लागि प्रदर्शनीको आयोजना गरिएको कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताए ।पछिल्ला वर्ष रैथाने बाली लोप हुँदै गएको र तिनको संरक्षणका लागि पहल भैरहेको उनको भनाइ छ ।

‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ सरकारले यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालेको छ । माघ १ गतेलाई सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवसका रुपमा घोषणा गरेको छ । दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भैरहेका छन् ।

पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सिर्जित कारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ ।

प्रतिक्रिया