संकटमा राउटे समुदाय, वर्षेनी झुपडीमै जल्छन् राउटे

          |   प्रकाशित मितिः बिहिबार, माघ ५, २०७९     ::: 520 पटक पढिएको   |  

सुरक्षा भत्ता नगत दिने तत्काल बन्द गर्नुपर्छ

सुर्खेत :  पुस १९ गते राती राउटे समुदायका नारायण शाही सहित उनको परिवार गहिरो निन्द्रामा थिए । राती सुतेको अवस्थामा उनी सुतेको ओछ्यानमा आगो लागेको पत्तै पाएनन् । जस्का कारण उनी ओछ्यानमै सख्त घाइते भए । उनी जलेको अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि सुर्खेत प्रदेश अस्पताल ल्याइयो । दुइ दिन प्रदेश अस्पतालमा उपचार भएपछि थप उपचारको लागि उनलाई पुस २१ गते थप उपचारको लागि काठमाडौँ लगियो । पुस २१ गते नारायणलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । मध्यरातमा सुतेको ओछ्यानमै अचानक आगलागी हुँदा उनी जलेर सख्त घाइते भएका उनकोे बुधवार निधन भएको छ ।

राउटे समुदायमा आगोमा जलेर ज्यान गुमाउने उनी प्रतिनिधि पात्र मात्र हुन् । यसरी आगोमा जलेर राउटे समुदायमा वर्षेनी राउटे बस्तिमै जल्ने गरेका छन् । यस अघि पनि ज्यान गुमाइसकेका छन् । राउटे समुदाय बस्तिमा जल्छन् । जंगलको झुपडीदेखि सहरको अस्पतालसम्म पुग्छन् । तर, जंगलको झुपडीमा फर्किन नपाउदै उतै संसार छोड्छन् । २०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाडौंसम्म र्पुर्याएर उपचार गरिएको थियो । तर, आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए । नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए ।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन, शिवराज शाही । बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए । पछिल्लो पाँच वर्षमा राउटे समुदायका ३० जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा १९ जना बालबालिका र ११ जना वयस्क उमेरका छन । त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन । राउटे समुदायमा आगोमा जलेर सामान्य घाइते भएका १५÷२० जना अझै राउटे बस्तिमा रहेको सोसेक नेपालद्धारा बस्तिमा खटाइएका लाल बहादुर खत्री बताउँछन् । अत्यधिक मदिरा सेवनकै कारण राउटे बस्तिमा सामान्य घाइते छन्,’उनले भने, ‘सामन्य घाइते भएका साना ठुला गरेर १५÷२० जनाको अहिले पनि उपचार गर्दे आएका छन् ।’

जंगलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदाय संकटमा पर्नु सरकारले उपलब्ध गराउने भत्ता हो । जस्का कारण उनीहरु अत्यधिक रुपमा मदिरा सेवन गर्ने र अन्तिममा मृत्युवरण गर्ने । सरकारले उपलब्ध गर्दै आएको भत्ताले उनीहरुको संख्या घट्दै आएको र दिनहुँ स्वास्थ्य कमजोर हुँदै गएको स्वास्थ्यकर्मी बताउँछन् ।

सरकारले भत्ताबापत दिने पैसाले राउटे समुदायमा मृत्युदर मात्र होइन जन्मदर पनि घटेको सोसेक नेपालबाटबाट राउटे बस्तिमा खटिएका जोडिशिक्षक लाल बहादुर खत्रीको भनाई छ । म प्रत्येक दिन राउटे दम्पतीसँग भेटेर मदिराकै कारण तपाईँहरुको जनसङया घटेको र कुनै बच्चा नजन्मेको भनेर मदिरा नपिउन आग्रह गर्छु,’ उनले भने, ‘केही समय मान्छन् पुन सरकारले चार महिनाको भत्ता एकैपटक हातमा थुर्पादिन्छ त्यस्ले गर्दा पनि धेरै पैसा देखेपछि मदिरा पिउन थाल्छन् ।’
राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा अनुसार २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएका छन । त्यसयता समुदायमा शिशु जन्मिएका छैनन ।

पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन । यसले राउटे समुदायमा बालमृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ । परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताए । ‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन । मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ ।’ राउटेमा चेतनाको कमी हुँदा व्यापारीले राउटेको सोझोपनको फाइदा उठाइरहेका उनको बुझाइ छ ।

फेरियो जीवनशैली

राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ ।

लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ । राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेशा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ ।

कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । आफ्नो परम्परामा काडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजङ्गल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्न थालेका छन । राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेका छन् ।

हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गछौँ गरेको राउटे मुखिया सूर्यनारायण शाहीले बताउँछन् । स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ । पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाईसँगै नहिंँडाउने, मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे । तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिलालाई सँगसँगै हिँडाउँछन् । केही समय अगाडि राउटे समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो, तर पछिल्लो समय यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोकेका देख्न सकिन्छ देखिन्छ ।

सरकार र समाजको भूमिका ?

राउटेलाई मुल प्रवाहीकरणमा ल्याउने चर्चा पनि बेलाबखत चलिरहन्छ । राउटे नेपालको पहिचान भएकाले पनि राउटेलाई उनीहरुकै परम्पराअनुसार चल्नुपर्छ भन्ने आवाजहरु पनि उठ्न थालेका छन् । जंगलकै बिचमा भएता पनि राउटेले आफुले उत्पादन गर्ने सामग्री उत्पादन गर्न दिनुपर्छ ।
वास्तवमा भनौँ भने राउटेहरू घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको प्रजाति हो । तसर्थ यी राउटेहरूको लागी स्थायी घर बनाइदिने र अन्य व्यवस्था मिलाउने भनेको एक मात्र घुमन्ते प्रजातिलाई हाम्रो समाजमा समाहित गरेर विलुप्त गर्नु हो ।

राउटे अज्ञानतासँग रमाइरहेको समुदाय हो । पछिल्ला केही वर्षयता उनीहरूको जीवनशैलीमा नकारात्मक परिवर्तनहरू देखा परेका छन । तत्कालीन सशस्त्र द्वन्द्वपछि जंगल छाडेर अन्य समुदायको बस्ती नजिक उनीहरू बस्न थाले । उनीहरूको परम्परागत बासस्थानहरू विकासका नाममा नास हुँदैछन । त्यसैले अन्य समुदायको बस्ती नजिक वा भनौं बजार क्षेत्र आसपासका बस्तीमा बस्न थालेका छन ।

मदिराको लतले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको देखिन्छ । यो मुख्य कारण हो । फलस्वरूप मदिराकै कारण राउटेहरू अकालमै मृत्युको मुखमा पुगेको देखिन्छ । स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको खानपान र आनीबानीले गर्दा उनीहरूको अस्तित्व संकटमा परेको देखिन्छ । अर्कोतर्फ जलवायु परिवर्तनले पनि राउटे समुदायलाई प्रभाव पारेको छ ।

पहिलो कुरा राउटेमा मदिराको लत हटाउनको लागि पहिलो कुरा त सरकारले स्पष्ट नीति निर्माण गर्नुपपर्ने अधिकारकर्मी हीरासिंह थापा बताउँनुहुन्छ । सामाजिक चेतनासँगै कुलतको असरहरू, स्वास्थ्यमा पुर्याउने हानिको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ,’उहाँले भन्नुभयोे, ‘उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्छ ।’

राउटे नागरिकलाई जथाभावी मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ। राउटे बस्तीसँगै जोडिएको गाउँका स्थानीय बासिन्दालाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ ।

सुरक्षा भत्ता नगत दिने तत्काल बन्द गर्नुपर्छ

संघीय सरकारले राउटे समुदायका हरेक व्यक्तिलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सरकारले दिने यो सामाजिक सुरक्षा भत्ता नगद दिन तत्काल बन्द गर्नुपर्ने थापाको भनाई छ । भत्ताको सट्टा मासिक रूपमा परिवार संख्या हेरेर कति मात्रामा चाहिन्छ खाद्यान्न, लत्ताकपडा दिन सकिन्छ,’उनले भने, ‘उनीहरूले पाउने भत्ताबाट केही निश्चित महिनाका लागि ‘खाना शिविर’ चलाउनुपर्छ । त्यसले उनीहरूमा पोषणयुक्त खाना खाने बानीको विकास हुन्छ । यसका लागि संघीय सरकारले ठोस नीति निर्माण गर्नुपर्छ । त्यसो हुन नसके राउटे समुदायको अस्तित्व इतिहासमा मात्र सीमित हुन बेर लाग्दैन ।’



Leave a comment

Your email address will not be published.


*