सल्यानमा बर्षेनी किवि खेती गर्ने कृषकको संख्या बढ्दै

सल्यानमा बर्षेनी किवि खेती गर्ने कृषकको संख्या बढ्दै

सल्यान : सल्यानमा किवि उत्पादन बढ्दै गएको छ । बर्षेनी किवि खेती गर्ने कृषकको संख्या बढ्दै जानु, किवि खेती गर्ने क्षेत्रफलको विस्तार हुनु र किविका नयाँ बोटहरुले पनि उत्पादन दिनथालेपछि जिल्लामा किविको उत्पादन बढ्दै गएको हो ।

यस बर्ष जिल्लाभर करिब ७० टन किवि उत्पादन हुनेभएपनि छत्रेश्वरीको बुँरासेमा मात्रै ४० टन बढी किवि उत्पादन भएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

उत्पादित किवीको वजारीकरणमा समस्या नभएको र बारीबाटै बिक्री हुने भएपछि जिल्लाका कृषकले किवी खेतीलाई थप विस्तार गर्दै लगेका छन् । थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषक किवी खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाको छत्रेश्वरी गाउँपालिका २ बुँरासेमा व्यवसायिक किविखेती हुदैँ आएको छ ।

करिब ८ बर्षदेखी किविखेती थालेका यहाँका कृषकहरुले ७ हजार पाँच सय बढी बोट किवि रोपेका छन् । यस्तै यहाँका २६ कृषकहरुले व्यवसायिक रुपमा किविखेती गर्दै आएका छन् । यस्तै बागचौर नगरपालिका ९ बथानमा करिब २ हजार ५ सय बोट किवि रोपिएको छ । तर उत्पादन दिन शुरु भैसकेको छैन् । यहाँ उत्पादित किवि मध्ये केही जिल्लाभित्रै खपत हुन्छ भने अधिकांश जिल्लाबाहिर निर्यात हुने गरेको छ ।

अहिले कृषकहरुले किविलाई प्रतिकेजी २ सय देखी २ सय ५० रुपैँयामा विक्री गरिरहेको कर्णाली प्रदेशद्धारा सञ्चालित अर्गानिक मिसन कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत प्रविन आचार्यले बताए । किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवीखेतीको राम्रो सम्भावना रहेको उनको भनाई छ । उनले किवी खेतीलाई प्रवद्र्धन गर्न अर्गानिक खेतीमा जोड दिइएको बताए । यसका लागि कृषि विकास कार्यालयले लेबलिंग र प्याकेजिंगसँगै प्रांगारिक मल, भकारो सुधार, बेर्ना उत्पादन लगाएतमा सहयोग गरेको बताए ।

‘अहिले ब्यापारीहरु किवि खरिद गर्न कृषकको बारीमै पुग्ने गरेका छन्, किविको सिजन चैतसम्म नै रहन्छ’ उनले भने ‘जिल्लामा उत्पादन भएको किवि दाङ्ग, सुर्खेत, नेपालगंज, बुटवल, पोखरा, काठमाण्डौ सम्म निर्यात हुदैँ आएको छ ।’ उहाँले यो वर्ष किविको प्रांगारिक प्रमाणीकरण गर्नका लागि आन्तरिक नियन्त्रण प्रणाली सञ्चालन गर्ने तयारी गरिएको बताए ।

किविखेतीबाट नै मनग्य आम्दानी गर्नसकिन्छ भन्ने नै नसोचेका कृषकहरु अहिले मनग्य आम्दानी हुन थालेपछि खुसी भएका छन् । बुराँसेकी नन्दकला कँवरले किविबाट नै वार्षिक ३ देखि ४ लाख रुपैँया आम्दानी भैरहेको बताए । देखासिकीमा किविखेती गरेको भएपनि अहिलेभने यसले राम्रो आम्दानी भैरहेको उनको भनाइ छ ।

बुराँसेकै तेजबहादुर योगीले पनि किवी खेतीबाटै वार्षिक १४ लाख रुपैँया सम्म आम्दानी गर्दै आएका छन् । सबै खर्च कटाएर ८ देखि १० लाख रुपैँया बचत हुने उनको भनाई छ । सल्यानमै पहिलो पटक व्यावसायिक किवीखेती गर्न थालेका उनले चार रोपनीमा किविखेती गर्दै आएका छन् । सुरुमा परीक्षणका लागि लगाएको किवीले राम्रो उत्पादन र बजार मूल्य पनि राम्रो पाइरहेको उनको भनाई छ ।-सल्यानटुडे

 

प्रतिक्रिया