जसले अन्तिम पटक छोरालाई हेर्न पाइनन्

जसले अन्तिम पटक छोरालाई हेर्न पाइनन्

छोरा बचाउन काठमाडौं गएका महामुखिया महिनबहादुर शाही बिहीवार साँझ रित्तो हात बस्ती फर्किएका छन् ।
छोरा निको भएर फर्किने आशमा बसेकी आमा दुनी शाहीको इच्क्षा अधुरै ।
सुन्दरी शाहीले २० वर्षमै गुमाईन पति ।
राउटेका महामुखिया महिनबहादुर र उनका पत्नि दुनी शाही सन्तान विहिन बनेका छन् ।

दैलेख : फिरन्ते जाती राउटे समुदायमा अहिलेसम्म कसैले पनि मोवाइल वा फोन चलाएका छैनन् । त्यसैले पनि बस्तीमा सूचना आदानप्रदानमा सहज छैन् । बुधवार साँझ ज्यान गुमाएका बस्तीका नारायण शाहीको मृत्युको खबरबारे गत बिहीवार साँझ साढे पाँच बजेसम्मपनि बस्तीमा सुईँकोसम्म पनि पाएनन् । सिवाय, नारायणका बुबा महिनबहादुर शाही बाहेक । महामुखिया शाही आगोले पोलिएर घाइते भएका छोरालाई लिएर काठमाडौं पुगेका थिए । महामुखिया शाही बस्ती पुगेपछि मात्र सबैले नारायणको मृत्युबारे थाहा पाए ।

गत पुष १९ गते राती सुतिरहेको बेला आगोले जलेर घाइते भएका नारायणलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो । काठमाडौंको ट्रमा सेन्टरमा नारायणको उपचार चलिरहँदा दैलेखस्थित बस्तीमा नारायणकी आमा ५४ वर्षिया दुनी शाही छोरा निको भएर फर्किने आशमा थिइन् । बस्तीमा कोही नयाँ मान्छे पुग्ने बित्तिकै उनि सोध्ने गर्थिन, छोरालाई कस्तो छ होला ? कहिले फर्कन्छ ? अरु यस्तै यस्तै ….। उनलाई लागेको थियो, छोरालाई जीवितै भेट्न पाउनेछु । उनले यो सपना अधुरै रह्यो । छोरालाई जीवितै देख्ने नपाएकी दुनीले छोराको मृत शरिरसमेत देख्न पाइनन् । छोरा बचाउन हिडेका महामुखिया महिनबहादुर बिहीवार साँझ साढे पाँच बजे रित्तो हात फर्किए । मन गरुँगो पार्दै ।

महामुखिया दम्पतिले छोरा गुमाए । अर्कोतर्फ नारायणकी पत्नि सुन्दरी शाहीले २० वर्षमै पति गुमाइन् । सुन्दरीले पुष २० गते पतिलाई उपचारका लागि सुर्खेततर्फ पठाएर आफु बस्ती फर्किएकी थिइन् । उनि पति निको भएर फर्किनेमा ढुक्क थिइन् । पति जीवितै फर्किने आशमा दिन कटाईरहेकी सुन्दरीले पतिको मृत्युको खबर एक दिन बितेपछि मात्र थाहा पाइन् । बुधवार साँझ अन्तिम सास फेरेका पति नारायणको मृत्युको खबर ससुरा महामुखिया महिनबहादुर शाही बिहीवार साँझ बस्तीमा पुगेपछि मात्र थाहा पाइन् । पति वियोगको पीडाले सुन्दरीका आँखा ओभानो छैनन् । बस्तीका सबै महिलाहरु उनलाई सम्झाईरहेका छन् । उनको पीडा भुलाउने प्रयास गरिरहेका छन् । बस्तीमा कसैका आँखा ओभानो छैन् । नारायणको मृत्युको खबर थाहा पाएपछि बस्तीमा रुवाबासी चलेको छ ।

पुस १९ गते राती अत्यधिक मदिरा सेवन गरेर सुतिरहेका बेला आगो लागेर घाइते भएका राउटे युवा नारायण शाहीको बुधवार मृत्यु भएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयूमा राखेर उपचार भईरहेको थियो । निको हुने छाँट नदेखेपछि नारायणका बुबा महामुखिया महिनबहादुर शाहीले घरतर्फ हिडाएका थिए । ट्रमा सेन्टरबाट एम्बुलेन्समा राखेर दैलेखतर्फ ल्याउँदै गर्दा उनको बीचबाटोमै निधन भएको हो । महामुखिया शाहीले डाक्टरहरुले नै बाँच्ने सम्भावना कम छ भनेपछि दैलेख लिएर फर्किने क्रममा निधन भएको बताए । ‘डाक्टर सावहरुले तपाईको छोरालाई निको गराउन सम्भव छैन् भनेपछि उसको आमा (दुनी) र पत्नि (सुन्दरी) ले मुख हेर्लान भनेर ल्याउँदै गर्दा बाटोमै बित्यो, महामुखिया शाहीले भने ।

नारायणका आमा दुनी र पत्नि सुन्दरी जीउँदो देख्न त पाएनन्, मृत शरिर समेत देख्न पाएनन् । मृतक नारायणको शव काठमाडौंबाट सिधै बस्तीमा नभई पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा लगिएको थियो । पोस्टमार्टमपछि अस्पताल नजिकै रहेको तर्ताङस्थित जंगलमै दाहसंस्कार गरिएको छ । राउटेको संस्कार अनुसार खाडल खनेर नारायणको शव गाडिएको छ । सोसेक नेपालका प्रभाकुमार विश्वकर्माले नारायणका बुबा र राउटे समुदायका अन्य दुई जना युवाहरु शेरबहादुर र दिपकको उपस्थितीमा बिहीवार साँझ पाँच बजे अन्तिम दाहसंस्कार गरिएको बताए ।

पुष १९ गते जलेर घाइते भएका उनलाई २० गते विहान दैलेख अस्पतालमा ल्याईएको थियो । प्राथमिक उपचार सकेर दैलेख अस्पतालले कर्णाली प्रदेश अस्पतालमा रिफर गरेको थियो । प्रदेश अस्पतालमा पनि उपचार सम्भव नभएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उनको शरीरको ३० प्रतिशत भाग गहिरो रूपमा जलेकाले उनलाई बचाउन समस्या भएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ । नारायणको निधनपछि महामुखिया दम्पति सन्तान विहिन भएका छन् । महामुखिया महिनबहादुर दम्पतिको अर्का छोरा शिवराज शाहीको मदिरा सेवनकै कारण गत वर्ष निधन भएको थियो । शिवराजकी पत्नि सुरमान शाही १६ वर्षमै विधुवा बनेकी थिइन् ।

आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे समुदायको अस्तित्व नै संकटमा छ । अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लो पाँच वर्षयता राउटे बस्तीमा बयस्क र बालबालिकासहित ३० जनाले ज्यान गुमाईसकेका छन् । यो अवधीमा ज्यान गुमाउने बालबालिकाको संख्या मात्रै १६ जना छ । पाँच वर्षे अवधीमा जन्मिएका २७ जनामध्ये १६ जना बालबालिकाले अकालमै ज्यान गुमाएका हुन् ।

राउटेहरु दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णालीको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । हाल दैलेखको नारायण नगरपालिका–९ चुप्रास्थित लोहोरे खोला किनारमा उनिहरुको बसोबास छ । १४३ जनसंख्या रहेको राउटे बस्तीमा नारायणको निधनपछि राउटेको जनसंख्या १४२ मा झरेको छ ।

प्रतिक्रिया