मुसीकोटमा वृहत् शैक्षिक सुधार कार्यक्रम सुरु

मुसीकोटमा वृहत् शैक्षिक सुधार कार्यक्रम सुरु

रुकुम पश्चिम :  जिल्लाको मुसीकोट नगरपालिकाले वृहत् शैक्षिक सुधार कार्यक्रम सुरु गरेको छ । नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा शैक्षिक सुधारको लागि योजना बनाएको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सुरु भएको छ ।

नगरपालिकाले सोमबार आज देखि विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको बारेमा जानकारी लिन विद्यालय अनुगमन सुरु गरेको छ । विद्यालयमै पुगेर विद्यालयहरूको शैक्षिक तथा भौतिक पूर्वाधारको अवस्थाको बारेमा जानकारी लिनको लागि सोमबार आजबाट विद्यालय अनुगमनको काम सुरु भएको सामाजिक विकास समिति संयोजक एक्केबहादुर पाण्डेले बताए ।

अनुगमनको क्रममा विद्यालयमा देखिएका समस्या, विद्यर्थीका कुरा, शिक्षकका समस्या र अनुभव लगायत कुरा टिपोट गरिएको छ । त्यस्तै विद्यालयको भौतिक अवस्था, विद्यालय प्रति अभिभावकको भुमिका लगायत विषयमा पनि विद्यालयमै पुगेर छलफल हुने गरेको छ । सोमबार वडा नम्वर ७ र ८ का तीन वटा विद्यालयमा पुगेको संयोजक पाण्डेले जानकारी दिए ।

वडा नम्वर ८ को सरस्वति आधारभूत विद्यालय तिरसिङ, शाइकुमारी प्राथामिक विद्यालय क्वाम्मा र वडा नम्वर ७ को सुर्यदय आधारभूत विद्यालय ग्वाम्माखोलाको विद्यालयको अनुगमन गरिएको छ । विद्यालयको अवस्थाको बारेमा जानकारी लिएको र नगरपालिकाका सबै विद्यालयहरूको अनुगमन पछि विद्यालयको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिने नगर शिक्षा समिति सदस्य समिरजंग मल्लले जानकारी दिए ।

उनका अनुसार सामाजिक विकास समिति संयोजक पाण्डेको संयोजकत्वमा अनुगमन समितिनै निर्माण गरिएको छ । जसको सदस्यमा नगर शिक्षा समिति सदस्य समिरिजंग मल्ल, समाजिक विकास समिति सदस्य गोविन्द बुढा रहनुभएको छ । यो समितिले विद्यालय अुनगमन पछि १५ दिन भित्र प्रतिवेदन तयार पारी प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया