कर्णालीमा गरिबी र कुसंस्कारको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णालीमा गरिबी र कुसंस्कारको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री शर्मा

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीबासीलाई गरिबी र कुसंस्कारविरुद्ध उत्रन आग्रह गरेका छन् । शुक्रबार कर्णालाी प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, नवीनतम कृषि प्रदशनी तथा व्यपार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली र जनताको अवस्था परिवर्तनको लागि गरिबी र विभेदको अन्त्यका निम्ति कर्णालीबासीले मैदानमा उत्रनु पर्ने बताए ।

मुख्यमन्त्री शर्माले अब कर्णालीको समृद्धिको थालनी सुरु भएको बताएका हुन् । ‘कर्णालीको अवस्था परिवर्तनका लागि हामीलाई चाहिएको नीति, कार्यक्रम र ऐन कानून निर्माण गर्दै जनतातिर फर्केको छौँ’, मुख्यमन्त्री शर्माले भने, ‘हामीलाई दुई वटा कुराको खाचो छ, ‘हामी दुईवटै कुरामा केन्द्रित छौँ । कर्णालीमा आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, रोजगार एवम् आर्थिक सम्पन्नता र सुखको कुरा हो । हामीलाई सुख मात्रै भएर पुग्दैन, खुशी पनि चाहिएको छ ।’

शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार हुन् भन्ने सोचेका साथ अगाडि बढेको शर्माको भनाइ छ । उनले भने, ‘रोजगार नै कर्णालीको मुख्य विषय हो । कृषि र वन पैदावारमा आधारित मझौला उद्योगहरू सरकारको पहिलो प्राथमिकतामा रहनेछ ।’

त्यस्तै, स्वरोजगार र रोजगार सिर्जना गर्नका लागि भुरीगाउँ हाताहान्ना, कर्णाली करीडोर र भेरी करीडोर मुख्य प्राथमिकतामा राखेर सडक निर्माण गर्ने मुख्यमन्त्री शर्माले प्रतिवद्धता जनाए । उनले भने, ‘राप्ति लोकमार्ग, लुम्बिनी र रारा जोड्ने सडक निर्माण पनि सरकारको पहिलो प्राथमिकतामा रहेको छ । साथै, कर्णालीका प्रत्येक वडाहरूमा सडक पुर्याउनेछौँ ।’

उक्त महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गरिने तथा प्रदर्शनीबाट ४ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्षले जानकारी दिए ।

 

प्रतिक्रिया