पाँच दिने शिविरमा एकहजार बढीले लिए निशुल्क सेवा

पाँच दिने शिविरमा एकहजार बढीले लिए  निशुल्क सेवा

तस्बीर :हिक्मतबहादुर नेपाली

दैलेख – दैलेखमा संचालन भएको पाँच दिने शिविरमा एकहजार बढीले निशुल्क सेवा लिएका छन् । एक हजार तीन सय बिरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,दैलेख अस्पताल र नारायण नगरपालिकाको आयोजनामा सञ्चालित पाँच दिने हार्डजोर्नी तथा नसा रोग शिविरमा बिरामीहरूले निशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् ।

मिड सोलुसन फाउन्डेशन स्विट्जरल्याण्डको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक हजार २ सय ३१ जना बिरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको दैलेख अस्पतालका डा. धर्मराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार ७५ जना हाडजोर्नी सम्बन्धी बिरामीको सफल शल्यक्रिया गरिएको छ । हड्डी भाँच्चिएको, हड्डी भाँच्चिएर रड राखेर बिग्रीएको, हातखुट्टा बाँगिएको जस्ता जटिल स्वास्थ्य समस्या झेलिरहेका बिरामीहरुको निशुल्क शल्यक्रिया गरिएको डा.रेग्मीले बताउनुभयो ।

भाँच्चिएको हड्डीमा राखिएको रड आर्थिक अभावमा निकाल्न नसकेर लामो समयदेखि कष्टकर जीवनयापन गरिरहेका बिरामीहरू शिविरमा सेवा पाएपछि खुसी भएका छन् । शिविरमा दैलेखसहित अछाम, कालिकोट, जाजरकोटलगायतका जिल्लाका बिरामीहरूले निशुल्क उपचार पाएको छन् । हाडजोर्नीसम्बन्धी समस्या भोगिरहेका,आर्थिक अभावमा काठमाडौंसम्म गएर उपचार गर्न नसकेर थला परेका बिरामीहरूलाई लक्षित गरेर निशुल्क शिविर आयोजना गरिएको नारायण नगरपालिकाका मेयर लोमन शर्माले बताउनुभयो ।

शिविरमा हातखुट्टा भाँच्चिएको,बांगिएको र नसा सम्बन्धी रोगको उपचारका लागि विदेशीसहित नेपाली विशेषज्ञ चिकित्सकको टोली दैलेख आएको थियो । स्विट्जरल्याण्ड डा।क्याट्रिन हेगनको नेतृत्वमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीसहित १६ जना विशेषज्ञ चिकित्सकहरुले उपचार सेवा प्रदान गरेका हुन् । यहाँ उपचार हुन नसकेका बिरामीहरुको काठमाडौंमा शल्यक्रिया गरिने बताइएको छ ।

प्रतिक्रिया