महिलाहरुकोे लागि उद्घोेषण सम्बन्धि तालिम सम्पन्न

महिलाहरुकोे लागि उद्घोेषण सम्बन्धि तालिम सम्पन्न

सल्यान  – जिल्लाको सिद्धकुमाख गाउँपालिकाले महिलाहरुलाई दुई दिने उद्घोेषण सम्बन्धि तालिम प्रदान गरेको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा महिला जनप्रतिनिधि र वडा भित्रका महिलाहरुका लागि बोल्ने सिप र कलाको बिकासको लागि भन्दै २ दिने उद्घोषण तालिम प्रदान गरेको हो ।

वडाका महिला जनप्रतिनिधि र अन्य महिला दिदिबहिनी हरुलाई उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले बताउनुभयो । महिलाहरु बोल्न नसकेकै कारण पछाडी परेकाले यस्ता खालका तालिमा अतिनै आवश्यक रहेको उहाँले बताउनु भयो ।

अध्यक्ष गिरिले आगामी बर्ष पनि महिलाहरुका लागि बिभिन्न सिपमुलक तालिम तथा क्षमता बिकासका कार्यक्रम ल्याउने बताउनु भयो । तालिम लिएर महिलाहरुले भोलिका दिनमा सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयो गर्न आग्रह गर्नुभयो ।

यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले महिलाहरु नेतृत्वमा पुगे पनि अझै खुलेर बोल्न नसकेका कारण यो उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमता लगायतको बिकास गर्ने बताउनुभयो ।

महिलाहरुका लागि संबिधानले अधिकार दिए पनि कार्यान्वयन हुन नसकेको र महिलाहरु अहिले पनि खुलेर बोल्न नसकेको बताउनु भयो । उहाँले क्षेमता हुँदाहुँदै पनि बोल्न नसकेका महिलाका हक अधिकारका लागि भएपनि उदघोषण तालिमले धेरै कुरा सिकाउने बताउनुभयो ।

कार्यक्रममा सहभागिको तर्फवाट वोल्दै वडा महिला सदस्य कमला बिकले यो उद्घोण तालिमले आफुलाई धेरै कुरा सिकाएको बताउनु भयो । अव कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यस्तै अर्का सहभागी लक्ष्मी बिकले यस्तो तालिम आफुले पहिलो पटक लिएको र यो दुई दिनको सिकाईको सदुपयोग गर्दै समाजमा अगाडि वढ्न सके भोलिका दिनमा समाजको नेतृत्वकर्ता वन्न सकिने आफुले महसुस गरेको धारणा व्यक्त गर्नु भएको थियो ।

यस्तै कार्यक्रम सहभागी आशा परियारले यो तालिमले आफुहरुलाई धेरै कुरा सिकाएको र आगामी दिनमा महिलाहरुको लागि सिपमुलक र क्षमता बिकासका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

महिला कार्यपालिका सदस्य, महिला वडा सदस्य, दलित महिला सदस्य र अन्य महिला गरि करिब ३० जनाको सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासंघ सल्यानकी उपाध्यक्ष सरिता चलाउनेले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख बिमला खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया