हिमपातले किसान खुसी

हिमपातले किसान खुसी

सिमकोट – डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन् । खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन् ।

स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताउनुभयो । लामो समय खडेरी परेको कारण लगाएका बिरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब बिरुवा हुर्काउन सहज हुनेछ ।

किसान टक्क शाहीले कात्तिके बाली लगाउन कठिन भइरहेकोवेला परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको बताउनुभयो । किसानहरु खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा परिरहेको बेला हिमपातले ठूलो राहत पर्याएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हिमपात सुुरु भएको जानकारी दिनुभयो । दिउँसोबाट हिउँ जम्न थालेको र हिउँ पर्ने क्रम जारी रहेकोले चिसोबाट जोगिन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

गाउँपालिकाको छोबाखोर पञ्चमुखी, लब्लीडाँडा, रलिङगुम्बा, चाङ्ला हिमाल र नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेक, यारी, मुचु, चाला, न्यालु लेकमा बढी हिमपात भएको छ। यसवर्षको यो तेस्रो हिमपात हो।

प्रतिक्रिया