दुर्गमकी चेलीलाई मुख्य भूमिका

दुर्गमकी चेलीलाई मुख्य भूमिका

जाजरकोट — भेरी नगरपालिका–१ कालेगाउँकी १५ वर्षीया कमला वली सामान्य किसान परिवारकी चेली हुन् । शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँबाट यसै वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकी उनलाई न कुनै गीत संगीत वा नाचको अनुभव छ, न त अभिनयको ज्ञान ।

उनको फिल्मी दुनियाँमा करिअर बनाउने सपनासमेत थिएन । तर कमलालाई ‘मालिका’ फिल्मको मुख्य भूमिका गर्ने अभिनेत्रीमा छनोट हुने अवसर प्राप्त भएको छ ।

कमलालाई चर्चित अभिनेत्री रेखा थापा र ‘जीवन रूपान्तरण’ का विश्व प्रशिक्षक नरबहादुर कार्कीले बालविवाहको विषयवस्तु समेटेर बनाउन लागेको फिल्म ‘मालिका’ को मुख्य अभिनेत्री बन्ने अवसर प्राप्त भएको हो ।

बालविवाहविरुद्धको देशव्यापी अभियान अन्तर्गत अभिनेत्री रेखा र अभियन्ता कार्कीले निर्माण गर्न लागेको ठूलो पर्दाको फिल्मका लागि कलाकार खोज्ने क्रममा जाजरकोटको भेरी नगरपालिका १, कालेगाउँमा कमला फेला परेकी हुन् । उक्त फिल्मका लागि ग्रामीण क्षेत्रबाटै मुख्य पात्र बनाउने उद्देश्यका साथ कलाकार खोज्ने क्रममा जाजरकोटको कालेगाउँमा अध्ययनमा व्यस्त रहेकी कमलासँग जीवन रूपान्तरणका प्रशिक्षक कार्कीको पहिलो भेट भएको थियो । त्यपछि मालिका फिल्मका कार्यकारी निर्मातासमेत रहेका कार्कीको नजरमा उनी परिन् ।

गोरी, होचो कद, निधारमा खत अनि पातलो जीउडाल भएकी १५ वर्षीया कमलालाई खोजेको पात्र पाउँदा उनी र उनका अभिभावकसँग कलाकार बनाउने बारे कुराकानी भएको कार्कीले बताए । कहिलेकाहीं टेलिभिजनमा मात्र फिल्म हेरेकी कुनै पनि अभिनय नगरेकी कमलालाई एकै पटक ठूलो पर्दाको फिल्म खेल्दा कस्तो होला भनेर कौतुहल लागेको छ ।

उनी फिल्ममा अभिनय गर्नकै लागि गत साता बिहीबार काठमाडौंतर्फ लागेकी छन् । एक महिना अभिनयको तालिम लिएपछि उनको फिल्म सुटिङ सुरु हुनेछ । सामाजिक कुरीतिका रूपमा व्याप्त बालविवाहलाई अभिनयको माध्यमबाट हटाउने अभियानमा लाग्ने अठोट गरेको कमलाले बताइन् । सामाजिक कुसंस्कृतिविरुद्धको ठूला पर्दाको फिल्मको हिरोइन बन्ने अवसर प्राप्त हुँदा निकै खुसी भएको उनले बताइन् । घरपरिवार र समाजले बालविवाह गर्न दबाब दिइरहेका बेला कमलाले त्यसविरुद्ध प्रतिवाद गरेर बालविवाहको चपेटामा परेका बालिकाका लागि अभिनयमार्फत सामाजिक दबाब दिएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा लिएको नायिका रेखा थापाले बताइन् ।

नेपालबाट बालविवाह मुक्त गरी छोरीका लागि स्वर्णिम नेपाल बनाउने देशव्यापी अभियानमा लागेका अभिनेत्री रेखा र जीवन रूपान्तरणका प्रशिक्षक कार्कीले आम रूपमा मुलुकलाई नै बालविवाहविरुद्ध सहभागी गराउन ‘मालिका’ फिल्म निर्माण गर्न लागेको बताएका छन् । फिल्ममा मालिकाको भूमिकामा रेखा स्वयं हुनेछिन् भने ‘जया’ को भूमिकामा कमला देखिनेछन् ।

कमला सानै उमेरमा घरपरिवार र आफन्तले जबर्जस्ती गर्न लागेको विवाह नगरी भागेर काठमाडौं जान्छिन् । सबैतिर उनीमाथि दुव्र्यवहार हुन थालेपछि उनकी साथी बन्न आइपुग्छिन् रेखा थापा । रेखाले महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध लड्न सिकाउँदै फेरि जहाँबाट उनी विवाहको मण्डप छोडेर भागेकी हुन् त्यही गएर बालविवाह लगायतका हिंसाविरुद्ध सक्रिय हुने कथाको विषयवस्तु रहेको छ । नेपालका अन्य क्षेत्रको तुलनामा कर्णाली प्रदेशमा बालविवाहको दर बढी रहेकोले जाजरकोटबाटै फिल्मको मुख्य पात्र खोजिएको नायिका रेखाले बताइन् ।

छोरीका निम्ति स्वर्णिम नेपाल बनाउने हाम्रो अभियानमा सारा नेपालीलाई सहभागी गराउन यो फिल्म बनाउन लागेको रेखाले बताइन् । ‘यो फिल्म निर्माणको उद्देश्य ३ करोड नेपालीको सपनासँग जोडिएको छ त्यसैले सबैको साथ पाउने छौं,’ रेखाले भनिन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्म जाजरकोटका विभिन्न स्थान, बाँके, काठमाडौंलगायतका स्थानमा छायांकन हुनेछ ।

फिल्मको निर्देशन सम्झना उप्रेतीले गर्ने छिन् भने संगीत सुरेश अधिकारीले दिनेछन् । जाजरकोटमा उमेर नपुग्दै ६५ प्रतिशत बालबालिकाको बिहे हुने गरेको छ । बालविवाह दर उच्च रहेको जाजरकोट लगायतका कर्णालीका जिल्लाको जीवनशैली, त्यहाँ उत्पन्न समस्या समाधानका लागि महिलाले खेल्नुपर्ने सशक्त भूमिका र समस्याका कुरालाई फिल्मको विषयवस्तु बनाएको फिल्मका कार्यकारी निर्माता कार्कीले बताए ।

प्रतिक्रिया