दुल्लुमा सांस्कृतिक संग्रहालय स्थापना

दुल्लुमा सांस्कृतिक संग्रहालय स्थापना

फोटो – सांस्कृतिक संग्रहालयको उद्घाटन गर्नुहुँदै पुर्व उप–प्रधानमन्त्री एंव नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल साथमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी ।

दैलेख जेठ १ – दैलेखको दुल्लु नगरपालिकामा सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ । विशाल नेपालको शक्तिशाली राज्य मध्यको एक सिंजा राज्यको शितकालीन राजधानीको रुपमा रहेको दुल्लुले आफुसंग भएको ज्वाला सभ्यता र सिंजा सभ्यताको केन्द्र विन्दुको रुपमा रहेको श्री ५ राजेन्द्र विरविक्रम शाहको पालामा काजी जसपाउँ थापाले निमार्ण गरेको पौवा घरमा संग्रहालयको स्थापना गरिएको हो । नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, विभिन्न मन्दिर, पाटी, पौवाजस्ता मूर्त संस्कृति र देउडा, धमारी, कर्काेजस्ता अमूर्त सांस्कृतिक सम्पदाको धनी दुल्लु क्षेत्रबाट संस्कृति लोप हुन थालेपछि नगरपालिकाले संग्रहालय स्थापना गरेको हो ।
तिब्वती पठारको खशान देखी जडान सम्मको कला, संस्कृती, साहित्य, लोक जिवन, लोक संस्कारसंग सम्बन्धित मुर्त र अर्मुत सम्पदाहरुको जर्गेना गर्ने लोक संस्कृतीलाई बचाइ राख्न संग्रहालयको स्थापना गरीएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जनाए । नगर प्रमुख भण्डारीका अनुसार कला–संस्कृतिको जगेर्ना गर्नु नगरपालिकाको दायित्व भएकोले उक्त दायित्व पूरा गर्न संग्रहालयको स्थापना गरिएको हो । संग्रहालयमा विभिन्न परम्परागत लोक जिवन संग रहेका ढिकी, जातो, घट्ट, कोल, महिलाहरुले लगाउने गरगहना, पुराना पैसा, लगातका विभिन्न १६२ किसिमका सामग्रीहरु संग्रहालयमा संकलीत रहेका छन् ।
संग्रहालय स्थापना संगै दुल्लुमा आगामी जेष्ठ ४ गते सम्म पंचकोशी लोक सांस्कृतिक मेला लाग्ने दुल्लु नगरपालिकाले जनाएको छ । मेलामा स्थानीय स्तरमा रहेका पंचेबाजा, लोक देउडा, मारुनी नाच, फड्को, लगायतका ४२ लोक सँस्कृति रहने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
दुल्लु नगरपालिकामा स्थापना गरिएको संग्रहालय उद्घाटन गर्न दैलेख आइपुगेका पुर्व उप–प्रधानमन्त्री एंव नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राणाहरुले राज्य गर्ने दिन सकिएको भन्दै अब डाडाँका दिन आएको बताए ।

यस क्षेत्रको हावापानी राम्रो छ, यो क्षेत्र सितकालीन राजनाधी हो” उनले भने ।
अर्को प्रशंगमा नेता पौडेलले मुलुक समृद्ध बनाउनका लागि सबै क्षेत्रका जनताहरु अग्रसर रहन आग्रह गरेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई स्थानीय तहले पाएको अधिकार आफैले प्रयोग गरि जनतालाई विकासको बाटोमा लैजान सुझाव दिएका छन् । स्थानीय तहमा औधोगिक क्षेत्रको विकास गरि स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी सृजना स्थानीय तहहरुले ध्यान दिनु पर्ने बताए । संग्रहालय उद्घाटन कार्यक्रममा पुर्व सहकारी मन्त्री हृदयराम थानी, पुर्ब सांसद रन्जित कर्ण, लगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया