राउटेहरु स्वास्थ्य संस्था नआउने, स्वास्थ्यकर्मी बिरामी भएका ठाउँ नजाने
दैलेख – फिरन्ते जीवन बिताउँदै आएका बिरामी राउटेहरुको उपचारमा समस्या पैदा भएको छ । राउटेहरु आफै स्वास्थ्य संस्थामा जाने बानी नबसेको र स्वास्थ्यकर्मीहरुले औषधि तथा जनशक्तिको अभावमा राउटे बस्तीमा जान नसकेको कारण उपचारमा समस्या भएको हो ।
अहिले डुंगेश्वर गाउँपालिका–६, बिउराखेत नजिक जंगलमा बस्दै आएका राउटे समुदायका २२ वर्षका खगेन्द्रबहादुर शाहीलाई काठको काम गर्दा बन्चरोले दाहिने खुट्टाको चार वटा औंला काटिएको, ५३ वर्षका भक्तबहादुर शाहीको जउि सुन्निएर र ५५ वर्षीय जंगबहादुर शाहीलाई कडा ज्वरो आएर थलिएका छन् ।
राउटेहरु बिरामी परेको जानकारी गराउँदा पनि डाँडापराजुल स्वास्थ्य चौकीले सुनुवाइ नगरेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले गुनासो गरिन् ।
यसबारे स्वास्थ्य चौकी इञ्चार्ज रामप्रसाद न्यौपानेको ध्यानाकर्षण गराउँदा राउटेहरु बिरामी परेको जानकारी पाएको तर जनशक्तिको अभावमा त्यहाँ स्वास्थ्यकर्मी पठाउन नसकेको प्रतिक्रिया दिए । उनले बिरामी राउटेलाई स्वास्थ्य संस्थामा ल्याइदिए उपचार गर्न तयार रहेको बताए ।
हरेक २–३ महिनामा बस्ती सार्दै हिँड्ने राउटेहरु कर्णाली प्रदेशका सल्यान, सुर्खेत र दैलेखमा बस्ती सार्दै हिड्ने गर्छन् । पानीको प्रयाप्तता, काठका सामग्री बनाउने वनजंगलको उपलब्धता र मौसमी अनुकूलता भएको कारण राउटेहरु बढी समय दैलेखमा बस्न रुचाउँछन् ।
प्रतिक्रिया