१७ दिनमा १२ बालविवाह रोकिए

१७ दिनमा १२ बालविवाह रोकिए

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा गरी १७ दिनमा १२ वटा बाल विवाह रोकिएका छन् ।बाल क्लव, वडा बाल सञ्जाल, वडा बाल संरक्षण समिति, नगर बाल सञ्जाल, नगर बाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति र प्रहरीको सक्रियतामा बाल विवाह रोकिएको हो ।

जेठ २६ गते १६ वर्षीया बालका र १८ वर्षको बालकको विहे हुनबाट प्रहरीले रोक्यो । चौरजहारी नगरपालिका–१४ का दुवै जनाले उमेर नपुग्दै विहे गरेको खबर बाल क्लव गरेपछि प्रहरी चौकीले दुवैजनालाई सम्झाई बुझाई अभिभावकलाई जिम्मा लाएको थियो । त्यस यता ५ वटा वडामा भएका तथा हुने तयारीमा रहेका १० वटा बाल विवाह प्रहरीले रोकेको हो ।

बुधबार नगर बाल सञ्जालको सक्रियतामा चौरजहारी नगरपालिका–५, मा हुन लागेको विहे रोकेको छ । कानूनी रुपमा पनि अबैधानिक हुने र सानै उमेरमा बाल विवाह गर्दा चौतफी विकास बन्द हुने भन्दै बालबालिका आफैले बाल विवाह रोक्ने अभियान चलाइरहेका छन् ।

बुधबार विहेको अन्तिम तयारीमा रहेका १७ वर्षीया बालिका र १८ वर्षको केटाको विहे रोकिएको नगर बाल सञ्जालका अध्यक्ष जनक आचार्यले बताए । ‘कतिपय अवस्थामा अभिभावक र कतिपय अवस्थामा बालबालिका आफैले विहे गर्ने गरेका छन्, हामी सकेसम्म बाल विवाह अन्त्य गर्ने अभियानमा छौं,’ आचार्यले भने ।

यसैगरी, चौरजहारी–१०, का १८ वर्षीय बालक र १४ की १७ वर्षीया बालिकाबीच भएको विहे पनि प्रहरी चौकी नुवाकोटले रोक्यो । चौरजहारी–१३, की १५ वर्षीया बालिका र १७ वर्षीय बालक, चौरजहारी नगरपालिका–१०, १७ वर्ष उमेरका बालक तथा बालिका, चौरजहारी नगरपालिका–१४, की १६ वर्षीया बालिका र १८ वर्षीय बालकको विहे रोकिएको छ ।

चौरजहारी नगरपालिका–१४, कि १६ वर्षीया बालिका र १८ बर्षको बालकबीच हुन लागेको विहे बालबालिका र अभिभावकलाई सम्झाई बुझाई रोकिएको छ । सोही वडाको १७ वर्षीया बालिका तथा १७ वर्षकै बालकबीचको विहे, चौरजहारी–१४ कै १८ वर्षीय बालक र सानीभेरी गाउँपालिका–२, १७ वर्षीया बालिकाबीचको विहे, चौरजहारी नगरपालिका–१३, का १७ वर्षीय बालक र सल्यान दार्मा गाउँपालिकाकी १८ वर्षीया बालिकाबीचको विहे रोकियो ।

यस्तै गरी चौरजहारी नगरपालिका–१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका–८, की १९ वर्षीया बालिकाबीच र त्रिवेणि गाउँपालिका–९, १९ वर्षको बालक र १९ वर्षीया बालकबीचको विहे रोकिएको हो ।

प्रतिक्रिया