सुन चोरी आरोपमा एक युवक पक्राउ

सुन चोरी आरोपमा एक युवक पक्राउ


दैलेख – भारतको मुम्बईबाट सुन चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का १७ वर्षिय खगेन्द्र आचार्यलाई इलाका प्रहरी कार्यालय दुल्लुले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आचार्यबाट १९ ग्राम ४ सय ६० मिलिग्राम सुन बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक बजिरसिंह विष्टका अनुसार सुन चोरीमा संलग्न रहेको आरोपमा आचार्यका साथि चामुण्डाविन्द्रासैनी–५ का अनिल रेग्मीलाई मुम्वई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
‘खगेन्द्र आचार्यका कारण छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको भन्दै अनिल रेग्मीका बुबाले आचार्यलाई प्रहरीमा बुझाएका थिए’ उनले भने, ‘सुन चोरी गरेको स्वीकार गरेपनि कति चोरी भएको हो भन्नेबारेमा अनुसन्धान हुन बाँकी छ ।’ आचार्यलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाइएको प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए ।
प्रहरी निरीक्षक विष्टका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आचार्यले सुन चोरी पछि १०-१० तोला भाग गरिएको बयान दिएका छन् । ‘चोरी भएको सुन भाग लगाउँदा रेग्मीले नै बढि लिएको बयान छ’ प्रहरी निरीक्षक विष्टले भने, ‘सुन नेपाल ल्याउन खोज्दा भारत प्रहरीले केही सुन नियन्त्रणमा लिइसकको खुल्न आएको छ ।’
नोकरीका लागि मुम्बई पुगेका आचार्य घरमा राखिएको गरगहना सहित सुन चोरी गरेपछि दैलेख आएका थिए । उनी तीन महिना पछि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया