पत्रकार महिलाका लागि तालिम

पत्रकार महिलाका लागि तालिम

नेपाल पत्रकार महासंघको आयोजनामा दैलेखका पत्रकार महिला र पैरवी क्षेत्रमा क्रियाशील युवा महिलाका लागि लैंगिक समता र सुरक्षा सीप बारे २ दिने तालिम आजदेखि दैलेख सदरमुकाममा सुरु भएको छ ।
लैंगिक मूलप्रवाहीकरण, समता अभ्यासका निम्ति भइरहेका प्रयास, महिला सहभागितापछि यौन हिंसाको समस्या र सुरक्षा सतर्कता विषयमा पत्रकार देवकी तिमल्सिना र ज्योती कटुवालले तालिमको सहजीकरण गरिरहनुभएको छ ।
अन्तरराष्ट्रिय पत्रकार महासंघ (आईजेएफ), नर्वेजियन पत्रकार संघको सहयोगका सञ्चालन भएको तालिममा दैलेखका क्रियाशील पत्रकारिता गरिरहेका पत्रकार महिला र महिला तथा बालिकाको पैरवी क्षेत्रमा क्रियाशील १७ जना युवा महिलाहरुको सहभागिता छ ।
तालिम उद्घाटन गर्दै नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पहिलेको तुलनामा महिला मैत्री कानूनी संरक्षण भए पनि सामाजिक परम्परा वाधक बनेको बताउनुभयो । ती समस्या हटाउन महिला स्वयम्को अग्रसरता आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले पत्रकार महिला र अधिकारकर्मीहरुलाई कार्यस्थलमा हुने यौनजन्य घटना वा अन्य असुरक्षाको अवस्थामा सुरक्षा र कानूनी उपचारमा तत्पर रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष कृष्ण देवकोटाको सभापतित्वमा भएको तालिम उद्घाटन समारोहमा पत्रकार बिष्णु शर्मा, प्रकाश आचार्य, देवकी तिमल्सिना र ज्योती कटुवालले पनि बोल्नु भएको थियो ।

प्रतिक्रिया