राउटे बालबालिकाको उपचार

राउटे बालबालिकाको उपचार

सुर्खेत, कार्तिक –१, राउटे बालबालिकाको उपचार गरिएकोछ । घुमन्ते जिवन विताईरहेका राउटे समुदाय पहाडवाट वेसीमा झरेपछि अधिकाँस बालबालिका विमारी परेका थिए । औषधी खान नमान्ने तथा उपचारको लागि हेल्थपोष्ट वा मेडिकलमा नजाने राउटे समुदायका बालबालिका विरामी परेपछि अलपत्र अवस्थामा रहेका थिए ।
दशैंको लागि राउटे समुदायमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न जाँदा अधिकाँस बालबालिका विरामी परेको अवस्था देखेपछि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले औषधी उपचारको व्यवस्था मिलाएको हो । असोज २९, ३० र ३१ गते उपचार गरेपछि राउटे समुदायको वस्तीमा विरामी भएका बालबालिकाहरुलाई सन्चो भएको छ । बालबालिकाले औषधी खान नमानेपछि राउटे समुदायका युवा शिवराज शाहीले औषधी खुवाउन सहयोग गरेकोले औषधी खाएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अहेव विनोद कुमार विसीले वताए । उनले थपे, “अहिले राउटे वस्तीमा विरामी भएका बालवालिका ३ जना मात्र रहेको अरु सवैलाई उपचारपछि निको भएकोछ, ३ जनाको पनि उपचारमा हामी लागेका छौं विस्तारै नियन्त्रणमा आउदैछ । ” राउटे समुदाय घुमन्ते जिवन विताईरहेका र समय मिलाएर औषधी नखाने हुनाले वस्तीमा नै वसेर औषधी खाने समय अनुसार औषधि खुवाएको सोसेक नेपालका जोडी सहजकर्ता लाल वहादुर खत्रीले वताए । अरु दशैंको विदामा घर गएको अवस्थामा पनि हामी राउटे बालबालिकाको उपचारमा तल्लिन रहेको खत्रीको भनाई थियो । दशैंको अवसरमा विरामी रहेका ४५ जना बालवालिकालाई उपचार गरिएको सोसेक नेपाल जोडि सहजकर्ता दुर्गा खत्री (खड्का) ले वताईन ।
गुराँस गाउँपालिकाले राउटे समुदायलाई परिचय पत्र वितरण गरेदेखि एईआईएनको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले राउटे वस्तीका लागि राउटे परियोजना संचालनमा ल्याएकोछ । सोसेक नेपालले १ जना अहेव सहित ३ जना कर्मचारी राउटे समुदायकै वस्ती नजिक वस्ने गरि परिचालन गरको कुरा कोषाध्यक्ष दुर्गा श्रेष्ठले वताईन् ।

प्रतिक्रिया