राउटे बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइयो

राउटे बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइयो

–ज्वाला संदेश –
सुर्खेत कात्तिक १५ ।
सरकारले अभियानको रुपमा खुवाँउदै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधी यस बर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको छ । समुदायका ६ महिना देखि ५ बर्ष सम्मका ३५ जना बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधी खुवाइएको हो ।

बिगत बर्षमा सरकारले प्रत्येक बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते संचालन गर्दै आएको भिटामिन ए भिटामिन ‘ए’ क्याप्सुल खुवाउने अभियान यस बर्ष भने दोस्रो चरणको कार्यक्रम यहि कात्तिक १४ र १५ गते संचालन गरेको थियो । सरकारी अभियानको पहिलो दिन राउटे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान मानेका थिएनन् ।

सामाजिक सेवा (केन्द्र) सोसेक नेपाल दैलेखद्धारा राउटे समुदायमा संचालित राउटे परियोजनाको पहलमा दोस्रो दिन भने भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधी खुवाइएको परियोजनमा मार्फत राउटे समुदायमा खटिएका अहेव बिनाद विसीले जानकारी दिनुभयो ।

दैलेखको गुरासँ गाउँपालिकाबाट बसाई सरेर सुर्खेतको लेकबेशी नगरपालिका–९ गंगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको सामाजिक सेवा (केन्द्र) सोसेक नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले जानकारी दिनुभयो । सरकारी नीति अनुसार यस अघि राउटे समुदायका बसेकै स्थानमा स्वास्थ्यकर्मीको टोली भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधी खुवाउन पुगेपनि उनिहरुले खान नमानेपछि फिर्ता हुने गरेका थिए ।

जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरु अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेसंगै बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधी खुवाउन सहज भएको अध्यक्ष थापाको भनाई छ । समुदायले अहिले सरसफाईमा पनि ध्यान दिन थालेको उहाँको भनाई छ । राउटे बालबालिकालाई यस अघि पोलियो थोपा भने खुवाइएको थियो । कुल १ सय ४८ जनाको जनसंख्या रहेको राउटे समुदायमा ७४ जना बालबालिका छन् ।

प्रतिक्रिया