गुरासँमा महिला सहकारी मार्फत ‘जीवन सुरक्षा कोष’

गुरासँमा महिला सहकारी मार्फत ‘जीवन सुरक्षा कोष’

टेकराज केसी
गुरासँ (दैलेख) कात्तिक २९ ।
दैलेखको गुरासँ गाउँपालिकामा महिला सहकारी मार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ । बालबालिकाको भविष्य सुनिश्चित गर्न ल्याइएको उक्त कार्यक्रम महिला सहकारीहरु मार्फत संचालन गर्ने अन्तिम तयारी थालिएको हो । बिहिबार गाउँपालिका महिला तथा बालवालिका इकाईको आयोजनामा महिला सहकारीहरु, सहजकर्ता र जनप्रतिनिधिविच यस विषयमा अन्तरक्रिया समेत गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै ८ वटै वडाका महिला सहकारीहरुका अध्यक्षहरुले आफुहरु यो कार्यक्रम सहकारीहरु मार्फत संचालन गर्न तयार रहेको बताए । उनिहरुले यो कार्यक्रम विशेष गरेर महिलाहरुसँग सरोकार राख्ने भएको भन्दै गाउँपालिकाले सहकारी मार्फत बच्चाको भविश्य सुनिश्चित गर्न सकिने बताए । सेयर सदस्यहरुमा सचेतनाको कमी रहेको भन्दै यसको समाधान गरेर जीवन सुरक्षा कोष कार्यक्रम संचालन गर्न अझै सहज हुने बताए ।

कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले ‘जीवन सुरक्षा कोषलाई धेरै नागरिकहरुले विमाको रुपमा बुझ्ने गरेको भन्दै यसको मोडेल फरक रहेको बताए । उनले अविभावको तर्फबाट दुई हजार र गाउँपालिकाको तर्फबाट ५ हजार रकम गरी जम्मा ७ हजार रकम महिला सहकारीको नाममा जम्मा गरिने भन्दै यो कार्यक्रमलाई प्रभावकारी बनाउन सहकारीहरुको भुमीका धेरै हुने बताए ।
उनले भने, ‘बर्थीङ सेन्टरमा जन्मिएको प्रमाण र जन्म दर्ताको आधारमा ७ हजार रकम सहकारीमा जम्मा हुन्छ, ।’ उनले थपे, ‘सहकारीमा जम्मा भएको रकम उद्यम गर्ने व्यक्तीहरुलाई बार्षिक १५ प्रतिशत व्याजदरमा सहकारीले ऋण प्रदान गर्छ, त्यो सहकारीले बच्चाको नाममा बार्षिक १२ प्रतिशतले रकम जम्मा गर्छ ।’ ओलीले एउटा बच्चाको ७ हजारको ६ महिनाको व्याज चार सय २० रुपैयाँ हुने भन्दै त्यो रकम साँवामा जाने बताए ।
उनले यो रकम २० बर्षमा बच्चाको नाममा ७१ हजार ७ सय ४२ पुग्ने बताए । उनले भने, ‘२० बर्षमा ७१ हजार भन्दा धेरै रकम बच्चाको हुन्छ जसले बच्चा शिक्षा, दिक्षामा समस्या हुदैन, भने अर्कोतिर त्यही रकमबाट उद्यमीहरु तयार हुने भएकाले स्वरोजगारका अवसरहरु सृजना हुन्छन् ।

महिला सहकारीहरु कारोबारो बढ्ने उनको भनाई छ । अध्यक्ष ओलीले यो कोषलाई प्रभावकारी बनाउन केहि महिला सहजकर्ताहरु पनि नियुक्त गरिएको भन्दै ति सहजकर्ताले गाउँगाउँमा अभियान चलाउने बताए ।
यो कार्यक्रम संचालनका लागि यो वर्ष २० लाख बजेट विनियोजन गरिएको जानाइएको छ । यो कार्यक्रम २०७५ मंसिर १ गतेबाट शुरुवात गर्ने गाउँपालिकाको तयारी रहेको छ । गुराँस गाउँपालिकामा हरेक वर्ष चार सयदेखि पाँच सयसम्म बच्चाको जन्म हुने अनुमान छ । त्यसले गाउँपालिकामा २५ लाख जति व्ययभार थपिने छ । २०७४ साउन १ गतेदेखि जन्मिने बच्चाहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिने बताइएको छ ।

प्रतिक्रिया