जोखिममा परेका बालबालिकालाई सहयोग

जोखिममा परेका बालबालिकालाई सहयोग

दैलेख कात्तिक ३० ।
दैलेख जिल्लाभर आर्थीक तथा सामाजिक रुपमा उच्च जोखिममा परेका विपन्न बालबालिकाले सहयोग पाउने भएका छन् । केन्द्रिय बाल कल्याण समितिले सार्क विकास कोषको सहयोगमा टोल फ्रि हेल्प इन सार्क स्टेट परियोजना अन्तरगर्त ती बालबालिकाले शैक्षिक सामग्रीसँगै नगद सहयोग प्राप्त गर्ने भएका हुन् । उक्त सहयोग दैलेख जिल्लामा संचालित बाल हेल्पलाइन नेपाल मार्फत प्रदान गरिनेछ ।
सहयोग प्राप्त गर्नका लाागि जिल्लाका जुनसुकै स्थानबाट जोखिममा रहेका बालबालिका देखेमा बाल हेल्पलाइन नेपाल दैलेख (१०९८) मा खबर गर्नुपर्नेछ । हेल्पलाइनमा जोखिममा रहेका बालबालिकाको अवस्था बारे खबर आएपश्चात उनिहरुको घरमै पुगेर अवस्था विश्लेषण गरि सहयोगका लागि छनौट गरिनेछ । बाल हेल्पलाइनमा खबर आएका उच्च जोखिममा परेका र विपन्न बालबालिकालाई नगदसँगै शैक्षिक सामग्री प्रदान गरिने बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले बताउनुभयो । यस अघि ८८ जना बालबालिका र उच्च जोखिममा परेका बालबालिकाको १० जना अभिभावकलाई आयआर्जनका लागि सहयोग प्रदान गरिसकेको श्रेष्ठले जानकारी दिनुभयो । आगामी तीन महिनाको अवधीमा ३ लाख बराबरको रकम त्यस्ता बालबालिकालाई प्रदान गरिने उहाँको भनाई छ ।
त्यस्ता बालबालिकालाई सहयोग प्रदान गर्नका लागि बाल हेल्पलाइन सल्लाहकार, कार्यसम्पादन सहयोग समितिको बैठक बसेर निणर्य समेत भएको जिसस दैलेखका जिल्ला समन्वय अधिकारी भक्त बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरी जोखिममा रहेका बालबालिकाको अवस्था बारे बाल हेल्पलाइन (१०९८) मा फोन गरेर जानकारी गराउन समेत आग्रह गरिएको छ । बाल हेल्पलाइन नेपाल दैलेख जोखिममा परेका बालबालिकालाई राहत, सहयोग र पुर्नस्थापनाका लागि प्रभावकारी देखिएकोले यसको प्रभावकारीतामा बृद्धि गर्न सबैले सहयोग गर्ने समन्वय अधिकारी कार्कीले आग्रह गर्नुभयो ।
यसैगरी जिल्लाका ११ वटै स्थानीय तहमा स्थानीय बाल अधिकार समिति गठन गर्ने निणर्य गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो । उहाँका अनुसार उक्त व्यवस्था बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६० को उपदफा २ मा गरिएको छ । ऐनमा स्थानीय तहको उपाध्यक्ष वा उपप्रमुखले तोकेको त्यस गाउँकार्यपालिका वा नगर कार्यपालिकाको सदस्यको अध्यक्षतामा स्थानीय बाल अधिकार समिति गठन गर्ने प्रावधान छ ।
यस्तै नौमूले गाउँपालिका १ मा पर्ने लोहोरे बगरमा बेवारिसे अवस्थामा फेलापरेकी नारायण नगरपालिका ४ की ४ बर्षिया बालिका सृष्टि कटुवाल बाल हेल्पलाइन नेपाल दैलेखमा बस्दै आएको र उनको पारिवारिक पर्नमिलन नभएसम्म पालन पोषणकालागि नारायण नगरपालिकासँग अनुरोध गर्ने निणर्य गरिएको छ । उक्त बैठकले आगामी मंसिर ४ गते जिल्लाका सबै स्थानीय तहमा अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाउने निणर्य गरेको छ ।

प्रतिक्रिया