कोदालोले हिर्काएर छोराले गरे आमाको हत्या

कोदालोले हिर्काएर छोराले गरे आमाको हत्या

दैलेख : दैलेखमा मानसिक सन्तुलन गुमाएका एकजनाले आफ्नी आमाको टाउकोमा कोदालोले हिर्काएर हत्या गरेका छन्। नारायण नगरपालिका – ३ भुर्ति गाउँका २६ वर्षीय वालाराम नेपालीले ४६ वर्षीया आमा पार्वती सार्कीलाई सोमबार दिउँसो १ बजेतिर घरमै बसिरहेको अवस्थामा कोदालोले टाउकोमा हिर्काएका थिए। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

केही समयदेखि मानसिकरुपमा अस्वस्थ रहेका वालाराम सोमबार दिउँसो आत्महत्या गर्छु भन्दै डोरी बोकेर घरबाट जान लागेको बेला आमाले रोकेपछि रिसको झोकमा कोदालोले हिर्काएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

एक्कासी कोदालोले हिर्काएपछि मुर्छित बनेकी पार्वतीलाई बचाउन गएकी ७० वर्षीया जुहारा नेपालीलाई पनि वालारामले कोदालो प्रहार गरेपछि उनी पनि गम्भीर घाइते भएकी छन्। उनलाई बचाउन जाँदा छिमेकी मनिसरा नेपाली र कौशिला नेपाली पनि घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको।

छिमेकीले तत्काल प्रहरीमा घटनाबारे खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले वालारामलाई पक्राउ गरेको छ। छोराको कोदालो प्रहारबाट ज्यान गुमाएकी पार्वतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रतिक्रिया