बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह

बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह

दैलेख पुस ७, दैलेख स्थित नागरिक समाजले जिल्लाका बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह गरेको छ । बालबालिकाहरुको अप्रिय घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै नागरिक समाज दैलेख द्धारा जारी विज्ञप्तीमा दैलेख जिल्लाका स्थानीय तह, शिक्षण संस्था तथा प्रहरी र शिक्षासँग सरोकार राख्ने निकायहरुलाई बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह गरिएको हो । नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापती, सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापा र इन्सेक जिल्ला प्रतिनीधि अमर सुनारद्धारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो अपिल गरिएको हो ।
दैलेखको पञ्चकोशी बेद विद्याश्रममा कार्यरत शिक्षक खगेन्द्र बजगाईले सस्कृतको श्लोक कण्ठ नगरेको आरोपमा सोहि बेद विद्याश्रममा अध्ययनरत १३ बालक विद्यार्थी सुरेश हमाल माथी गरेको कुटपिटका कारण घाइते भएको घटना र दैलेख सदरमुकाम स्थित सनराइज बोडिंग स्कुलका युकेजीमा अध्ययनरत ६ बर्षिया हिक्मत शाहीको विद्यालयको पानी ट्यांकीमा मृत फेला परेको घटना प्रति नागरिक समाज दैलेखको ध्यानाकर्षण समेत भएको विज्ञप्तीमा जनाइएको छ ।
पञ्चकोशी बेदविद्याश्रम बाल मैत्री बनाउन चुकेको र सनराइज बोडिंग स्कुल आफ्नै विद्यालयका बालकको सुरक्षामा सम्वेदनशिल हुन नसकेको भन्दै नागरिक समाज द्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘यि प्रतिनीधिमुलक घटनाहरु देखिएको अवस्थामा जिल्लाका सबै विद्यालयमा अध्ययनरत बाल बालिकाहरुको सुरक्षा, शिक्षण सिकाईमा बाल मैत्री बातावरण, शिक्षण सिकाई उपलब्धीमुलक बनाउन जरुरी देखिएको छ ।’
विज्ञप्तीमा एक जना बालक शिक्षकको कुटपिटबाट घाइते हुनु र अर्का बालक विद्यालयको पानी ट्यांकीमा मृत फेला पर्ने गरी भएको यि दुई घटनाको सत्थ तथ्य छानवीन गरि दोषिमाथी कार्बाहीको माग समेत गरिएको छ । साथै यस्ता घटनाहरु आगामी दिनमा नदोहोरिने अवस्था सृजना गर्नका लागि दैलेख स्थित स्थानीय तह, जिल्ला स्थित शिक्षण संस्था, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई तथा प्रहरी प्रशासनलाई चनाखो रहन नागरिक समाज दैलेखले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया