पिलाडी कर्णालीको चौथो बालमैत्री वडा

पिलाडी कर्णालीको चौथो बालमैत्री वडा


हिक्मत नेपाली
दैलेख – दैलेखको गुरासँ गाउँपालिका वडा नम्बर ६ पिलाडीलाई कर्णाली प्रदेशकै चौथो र दैलेख जिल्लाको दोस्रो वडाको रुपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । गुरासँ गाउँपालिका ६ को आयोजना तथा सोसेक दैलेखको सहयोगमा कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी, जिसस दैलेखका प्रमुख प्रेम बहादुर थापा, गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओली लगाएतको सहभागितामा बिहिवार पिलाडीलाई बाल मैत्री वडा घोषणा गरिएको हो । बाल मैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ मा निर्धारण गरिएको बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता तथा संस्थागत विकाससँग सम्बन्धित ३९ वटा सुचकहरु पुरा गर्दै पिलाडीलाई बाल मैत्री वडा घोषणा गरिएको हो । स्थानीय सरकार संचालन ऐन २०७४, बालबालिका सम्बन्धि ऐन २०७५ बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ र बाल मैत्री स्थानीय तह घोषणा कार्यविधिमा व्यवस्था भए बमोजिम बाल मैत्री स्थानीय शासनका सबै सूचकहरु पुरा भएपछि वडालाई बाल मैत्री घोषणा गरिएको गुरासँ गाउँपालिका–६ का वडाअध्यक्ष हिम बहादुर ओलीले बताउनुभयो ।
वडालाई बालमैत्री वडा घोषणासँगै कार्यविधिमा निर्धारण गरिएका ३९ वटा सूचकहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । जसमा पिलाडीमा बाल अधिकारलाई प्रत्याभूति गर्ने नीति, योजना, कार्यक्रम र आचारसंहिता निर्माण गरि कार्यान्वयन गर्ने वडाअध्यक्ष ओलीको भनाई छ ।
वडा भित्रका विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति, योजना तर्जुमा समिति लगाएतका नीति योजना निर्माण गर्ने र निणर्य गर्ने संरचनामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने छ । यसैविच वडामा निर्माण हुन सम्पूर्ण भौतीक संरचनाहरु बाल मैत्री बनाइने वडअध्यक्ष ओलीको भनाई छ । त्यसका साथै वडामा विनियोजन हुने पुँजिगत बजेटको कम्तीमा १५ प्रतिशत बजेट बालबालिका लक्षित योजना तथा कार्यक्रममा बिनियोजन गर्ने प्रतिबद्धता जनाइएको छ ।
वडालाई बालमैत्री घोषणा गर्नका लागि झण्डै ८५ लाख २० हजार २ सय ६३ रुपैयाँ खर्च गरिएको छ । सेभ द चिल्ड्रेन र सोसेक दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजना र गुरासँ गाउँपालिका –६ ले उक्त रकम खर्च गरेका हुन् । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा उल्लेख भए अनुसार बाल संरक्षण र बाल अधिकारमा २१ लाख ५७ हजार ८ सय ४१ रुपैयाँ खर्च भएको छ । त्यसैगरी बाल शिक्षामा ५४ लाख ९७ हजार ४ सय २१ रुपैयाँ खर्च गरिएको छ ।
बाल मैत्री वडा घोषणाका लागि साविकको पिलाडी गाउँविकास समितिबाट ५ लाख ५४ हजार र गुरासँ गाउँपालिकाबाट ३ लाख २० हजार रुपैयाँ खर्च गरिएको वडाअध्यक्ष ओलीले बताउनुभयो । गुरासँ गाउँपालिका–६ पिलाडीलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका अबसरमा गुरासँ गाउँपालिकाले नगद ५० हजार रुपैयाँ सहित बाल मैत्री वडा घोषणा प्रमाणपत्र प्रदान गरेको छ । प्रमाण पत्र र नगद रकम गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले प्रदान गर्नुभएको हो । गुरासँ गाउँपालिका–६ पिलाडीलाई बालमैत्री घोषणा पूर्व विभिन्न विद्यालयका विद्यार्थी र स्थानीय बासीले बाजागाजा सहित बगौरामा ¥याली निकालेका थिए ।

प्रतिक्रिया