ऐतिहासिक सम्पदाहरुको संरक्षण गरिने

ऐतिहासिक सम्पदाहरुको संरक्षण गरिने

टेकराज केसी, दैलेख– दैलेखको गुराँस गाउँपालिकाले गाउँपालिका भित्र रहेका धार्मीक, पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने भएको छ । गाउँपालिकाका विभिन्न स्थानहरुमा रहेका यस्ता पुरातात्विक सम्पदाहरुको पहिचान गरि संरक्षण गर्ने लागेको हो । गाउँपालिका वडा नम्बर ३ चाल्सा र वडा नम्बर ६ मा रहेको देवलहरु र अन्य सम्पदाहरुको पहिचान गर्न सुरु गरिएको गुराँस गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिएको जानकारी अनुसार यस्ता सम्पादाहरुको संरक्षण गरि पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ । गाउँपालका वडा नम्बर ३ मा पुरानो देवलहरु रहेका छन् भने वडा नम्बर ६ मा पनि त्यस्तै देवलहरु रहेका छन् । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले सम्पदाहरुलाई जोगाएर राख्नुपर्ने बताउँदै यस्ता सम्पदाहरु भावी पुस्ताको लागि आकर्षणको केन्द्र हुने बताउनुभयो ।
उहाँले गुराँस गाउँपालिका धार्मीक, सामाजिक रुपमा विविधता र धनी रहेको भन्दै यस्ता देवलहरु र मठ मन्दीरहरुको संरक्षण गरिने जानकारी दिनुभयो । गाउँपालिका वडा नम्बर ६ अन्तरगत जन्ते ढुङ्गा पनि पुरातात्विक सम्पदा अन्तरगत पर्दछ । वडा नम्बर ३ का ८० बर्षका वृद्धका अनुसार वडा नम्बर ३ मा चाल्सामा रहेको यो देवल ५ भाई पाण्डवले बनाएका हुन् । यस देवलभित्र ९ वटा सर्पहरु रहेको धार्मीक कथन रहेको छ । तर ति सर्पहरु बर्षको एक दिन बाहिर निस्कने र ति नागहरुको पुजा नगर्ने हो भने कष्ट हुन्छ भन्ने मान्यता रहि आएको छ । ति वृद्धले यस देवलमा अहिले पनि औँसी पूर्णीमाको दिनमा धुपबत्ती गर्ने गरेको भन्दै गाउँपालिकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
यता, वडा नम्बर ३ का अध्यक्ष गंगाराम खत्रीले यस्ता पुरातात्वीक सम्पदाहरुको संरक्षणका लागि वडाबाट पनि पहल भइरहेको बताउनुभयो । ‘हामीले यस्ता देवलहरुको संरक्षणका लागि वडाले पनि विभिन्न योजनाहरु बनाएको छ, यो योजना गाउँपालिका समक्ष पेश गर्न लागेका छौ, यी सबै पुरातात्वीक सम्पदाहरुको संरक्षण गरि पर्यटन आकर्षणको केन्द्र बनाउन सके विकासको गति अगाडी बढ्ने छ ,’ उहाँले भन्नुभयो । गाउँपालिकाका विभिन्न स्थानहरुमा यस्ता देवलहरु र अन्य पुरातात्वीक सम्पदाहरु रहेपनि अहिलेसम्म तिनको संरक्षणमा त्यती ध्यान जान नसकेको नागरिहरुले बताउने गरेका छन् । वडा नम्बर ७ का विभिन्न स्थानहरुमा पनि पुरातात्विक सम्पदाहरु प्रसस्त रहेका छन् ।

प्रतिक्रिया