‘सिंह आए दरबार आएन’ भनेर जनता तर्साउनु गलत – मुख्यमन्त्री शाही

‘सिंह आए दरबार आएन’ भनेर   जनता तर्साउनु गलत – मुख्यमन्त्री शाही

दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रतिनिधि सभा सदस्य पार्वती कुमारी विशुन्के, प्रदेश सभा सदस्य धर्मराज रेग्मी कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा.पुण्यप्रसाद रेग्मी लगाएत । तस्विर – हिक्मत बहादुर नेपाली, दैलेख

हिक्मत बहादुर नेपाली
दैलेख–
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मुलक नयाँ संरचनामा गएपछि बनेका स्थानीय तहमा सिंह आए दरबार आएन भनेर गलत प्रचार गरिएको बताउनुभएको छ । संघियतालाई टिक्न नदिने तत्वहरुले नियोजित रुपमा गाउँ–गाउँमा सिंहदरबार आएन सिंह मात्रै आए भनेर प्रचारवाजी गरि जनता तर्साउनु गलत भएको मुख्यमन्त्री शाहीको भनाई छ । दैलेख उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौद्धारा आयोजित दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको शुक्रवार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘संघियता फेल गर्ने, जनतामा वितिष्णा जगाउने, जनतालाई निराश जगाउन नेपालका केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेका छन्, त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ ।’
सिंहदरबारको अधिकार गाउँ–गाउँमा ल्याउँदा हिजो सिंहदरबारले दिने सेवा अहिले गाउँपालिका÷ नगरपालिकाले दिइरहेको मुख्यमन्त्री शाहीको भनाई छ । ‘नयाँ व्यवस्था कार्यान्वयन गर्दा केहि अल्झनहरु आउनु स्वभाविक हो,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘लामो समयको राजनीतिक संघर्ष पछि हामीले मुलुकमा नयाँ व्यवस्था ल्यायौ, कागजमा ल्याएका व्यवस्था व्यवहारमा उतार्नु छ ।’ संघियता कार्यान्वयनको चरणमा रहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘प्रशासनिक संरचना तयार भइसकेका छैनन्, कर्मचारीको अभाव कायमै छ, कर्मचारी समायोजन प्रक्रिया अगाडी बढिसकेको छ, कर्मचारी समायोजन मार्फत मुलुकमा सबै प्रशासनिक संरचनामा कर्मचारीको व्यवस्थापन गर्नेछौ ।’ एकात्मक राज्य व्यवस्थाबाट संघिय राज्य व्यवस्था स्थापना गरेको बताउँदै मुख्यमन्त्री शाहीले मुलुकमा समावेशी र समानुपातिक सहभागि सहितका सासकिय स्वरुप स्थापना गरिएको दावी गर्नुभयो ।
‘हिजो व्यवस्था परिवर्तन हुन्छ की हुँदैन, नयाँ व्यवस्था आउँछ की आउँदैन भन्ने चिन्ता सबैलाई थियो, अहिले फेरी संघिय संरचना फेल हुन्छकी, यो व्यवस्था मुलुकमा टिक्दैनकी, यो व्यवस्थाबाट पनि हाम्रा समस्या समाधान हुँदैनन्की, देशको विकास हुँदैनकी, हाम्रो गाउँ, जिल्ला, प्रदेश र सिंगो मुलुकको विकास हुँदैनकी भन्ने जनतामा ठुलो चिन्ता छ, त्यसप्रति सरकार गम्भिर छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ।
अर्को प्रशंगमा मुख्यमन्त्री शाहीले दैलेखसंगै समग्र कर्णाली प्रदेशको सम्भावनाको खोजी, अध्ययन तथा अनुसन्धान प्रदेश सरकारले गरिरहेको बताउनुभयो । ‘जनतामा तिब्र विकासको आशा छ,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, संचार लगाएतका सेवा सुविधाहरु जनता माझ पु¥याउने जिम्मेवारी राज्यको हो, सोहि अनुरुप राज्य लागिपरेको छ ।’ कम्युनिष्ट सरकार कानमा तेल हालेर नबसेको बताउँदै मुख्यमन्त्री शाहीले सरकार मुलुकका सबै नागरिकको स्थायी खुसीका लागि आर्थीक, सामाजिक तथा भौतीक विकासमा लागि रातदिन नभनी काम गरिरहेको बताउनुभयो । कम्युनिष्ट सरकारले जनताको अपेक्षा अनुसारको विकास, सुशासन र समृद्धि ल्याउने गरि काम गरिरहेको मुख्यमन्त्री शाहीले दावी गर्नुभयो । ‘कोकाकोला विक्री गरेर बाणिज्य क्षेत्रको विकास हुँदैन्,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ‘बहुराष्ट्रिय विदेशी कम्पनीहरुमा उत्पादित सामग्री ल्याउने, प्रर्दशन गर्ने र विक्री गर्ने उदेश्यले संचालन गरिने मेला महोत्सबहरु प्रतिबन्ध लगाउनुपर्छ ।’ स्थानीय कला संस्कृति र संस्कार जगेर्ना गर्न तर्फ मेला महोत्सबहरु केन्द्रित हुनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग तत्काल संचालनमा ल्याउन प्रदेश सरकारले पहल थालेको बताउनुभयो ।
दैलेखको पञ्चकोशी बृहत गुरुयोजना बनाउनुका साथै दैलेखको गढी र दुल्लु क्षेत्रको धार्मीक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उहाँको भनाई छ । कर्णाली प्रदेश सरकारले निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण बनाउन विशेष तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको छ ।’ दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले मुलुकको विकास र समृद्धिका लागि नीजि क्षेत्रको महत्वपूर्ण हुने बताउनुभयो । जिल्लामा हाट बजार संचालन, अत्याधुनिक सभा हल निर्माणका लागि महोत्सबले सभाउ पु¥याउने बताउँदै अध्यक्ष विकले त्यसमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
‘उद्यम, कृषि, पर्यटन र व्यापार ः समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित आयोजना गरिएको मेला चैत्र ४ गते सम्म संचालन हुने संघका महासचिव राजेश कुमार हमालले जानकारी दिनुभयो । दैलेख सदरमुकाममा कृषि हाट बजार संचालनमा ल्याउन र दैलेखमा अत्याधुनिक सभा हल स्थापना गर्ने मुख्य उदेश्य सहित मेला आयोजना गरिएको संघका बरिष्ठ उपाध्यक्ष कविराज खत्रीले बताउनुभयो ।
दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के, कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा.पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेश सांसद धर्मराज रेग्मी, अमर बहादुर थापा, दान सिंह परियार, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही लगायतका सहभागि थिए । महोत्सब उद्घाटन हुनु अघि विभिन्न झाँकी, पंचेबाजा, ढालतरवार नाँच, मारुनी, लाखे नाच सहित ¥याली निकालिएको थियो । सोहि अबसरमा दैलेख उद्योग बाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्द्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष पञ्चकोशी एकिकृत विकास कोष स्थापना गर्नुपर्ने, दैलेख सुर्खेत सडकखण्डलाई दुई लेनको बनाउनु पर्ने, मध्यपहाडी लोकमार्ग यथाशिघ्र संचालनमा ल्याउनु पर्ने माग राखेका छन् ।

प्रतिक्रिया