दस हजार अस्थायी शिक्षक बिदाइ गरिने

दस हजार अस्थायी शिक्षक बिदाइ गरिने

काठमाण्डौ, चैत १३ ।- स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)ले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपियाँ राखेको छ । केन्द्रले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिनुभयो ।
सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो । शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४०८ शिक्षक अपुग छन् । उहाँले मन्त्रिपरिषद्ले निर्णय गरिदिए आफूहरूले शिक्षक पदस्थापन र दरबन्दी मिलान तत्काल अगाडि बढाउने बताउनुभयो ।
कर्मचारी समायोजनमा ढिलाइ हुँदा काममा निकै समस्या परेको बताउँदैउहाँले शिक्षामा गरिएको लगानी र सम्पन्न भएका कार्यको विवरण सङ्कलन गर्न समस्या भएको गुनासो गर्नुभयो । विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)अन्तर्गत विदेशी दाताले दिएको रकम खर्चका बारेमा नियमितरूपमा विवरण केन्द्रमा पठाउनुपर्ने र केन्द्रले दातृ निकायलाई दिनुपर्ने वाध्यात्मक व्यवस्था छ ।
यसैगरी, सामुदायिक विद्यालयको सुधारका लागि सार्वजनिक शिक्षा रूपान्तरण अभियान नामक राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ । कमजोर विद्यालयका समस्या र राम्रो गरेका विद्यालयको अनुभव सुन्न चैतको अन्तिम सातामा सम्मेलनको आयोजना गर्न लागिएको छ ।
केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले आगामी वैशाख १ गतेबाट सुरु हुने विद्यार्थी अभियानअन्तर्गत भर्ना कम भएका १५ जिल्ला र १३६ पालिकामा सघन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 
उहाँले बर्दियाको बाँसगढी नगरपालिकाले जीवनमा पहिलोपटक विद्यालय भर्ना हुन आएका सबै बालबालिकालाई पोशाक निःशुल्कमा उपलब्ध गराउनुका साथै सबैभन्दा बढी विद्यार्थी भर्ना गराउने विद्यालयलाई पोशाकको व्यवस्था गर्ने निर्णय गरेको बताउनुभयो ।उपमहानिर्देशक दीपक शर्माले केन्द्रले आयोजना गर्ने शैक्षिक सम्मेलनमा राम्रा काम गरिरहेका र राम्रो गर्न नसकेका विद्यालयहरूको अनुभव साटासाट गर्दा त्यसबाट शिक्षामा सुधारको प्रयास हुने बताउनुभयो ।

प्रतिक्रिया