फरक–फरक ठाउँमा तीन जनाको हत्या

फरक–फरक ठाउँमा तीन जनाको हत्या

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

दैलेख जेठ १२ । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए । सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

अज्ञात व्यक्तिबाट वृद्धाको हत्या

महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् । शनिबार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।

उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन् । सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए ।

खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनामा नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन् ।

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ । घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

महिलाको हत्या

सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ । धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान खुलेको छैन । शव अहिले सर्लाही अस्पताल मलङ्गवाको शवगृहमा राखिएको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रदीपसिंह राठोरले जानकारी दिए ।

प्रतिक्रिया