कर्णालीका सरकारी अस्पतालमा निजी मेडिकल राख्न नपाइने

कर्णालीका सरकारी अस्पतालमा निजी मेडिकल राख्न नपाइने

असार ५, सुर्खेत- कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालको हाताभित्र निजी मेडिकल राख्न नपाइने अनिवार्य व्यवस्था लागू गर्ने भएको छ । असार १ गते कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट प्रस्तुत गर्दै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले यस्तो बताएका थिए ।

बजेट वक्तव्यको बुँदा नम्बर ९३ नम्बरमा उक्त कुरा उल्लेख गरिएको छ, ‘अस्पताल परिसरभित्र अस्पतालकै औषधि पसल मात्र सञ्चालन अनिवार्य गरी सहुलियत दरमा औषधि उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।’

सरकारले ल्याएको बजेटमा यो बुँदा समेटिएसँग प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल तथा अन्य स्वास्थ्य कार्यालयहरूमा सञ्चालनमा रहेका निजी मेडिकल पसलहरू पूर्ण रूपमा बन्द हुनेछन् । उनीहरूले अस्पतालभन्दा बाहिर नै पसल खोल्न भने पाउनेछन् । सरकारले यो व्यवस्था लागू गर्न सकेको खण्डमा बिरामीले सस्तोमा औषधि पाउने अपेक्षा जनताको छ ।

प्रतिक्रिया