सर्पले टोकेर बालिकाको मृत्यु

सर्पले टोकेर बालिकाको मृत्यु

दैलेख असार २४ । कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट १७ वर्षीया बालिकाको मृत्यु भएको छ । सर्पको टोकाईबाट आज (मंगलवार) विहान बालिकाको मृत्यु भएको हो । दैलेखको महाबु गाउँपालिका वडा नं. ५ काशिकाँधकी १७ बर्षीया बालिका टिका कुमारी शाहीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनी दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका–१ पुरानो बजारमा बस्दै आएकी थिइन् । उनलाई सोमवार राती दुई बजे कोठामा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । बाँया कानमा सर्पले टोकेपछि बालिकालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा आज विहान ११ ः ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिका जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र शाहीको छोरी हुन् ।

प्रतिक्रिया