खुला विश्वविद्यालयमा आकर्षण बढ्दै

खुला विश्वविद्यालयमा आकर्षण बढ्दै

काठमाडौँ – सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उपेन्द्र विश्वकर्मा अहिले राजनीतिशास्त्र विषयमा एमफिलका शोधार्थी हुन् । नेपाल खुला विश्वविद्यालय (एनओयु) नभएको भए यो सम्भावना कम रहन्थ्यो । ‘जागिरमा रहेकै बेला एमफिल, पिएचडीको उपाधि लिन मुस्किल छ,’ उपप्राध्यापक विश्वकर्मा भन्छन्, ‘तर खुला विश्वविद्यालयले यो अवसर दिलाएको छ । काठमाडौँबाट टाढा रहेर भर्चुअल प्रविधिको माध्यमबाट समयको सदुपयोग गर्न पाउँदा खुसी लागेको छ ।’

त्यसै गरी आरती विष्ट एनओयुकी ईगभर्नेन्स विषयमा स्नातकोत्तर गर्दैछिन् । उनी शिक्षण पेसामा आबद्ध छिन् । ‘जागिर खाँदै युनिभर्सिटीमा पढ्न जान भ्याइँदैन तर अहिले खुला विश्वविद्यालयले सम्भव बनाएको छ,’ भन्छिन्, ‘हप्तामा दुई–तीन वटा भर्चुअल कक्षा लिएर अनलाइनबाट पढ्न पाउँदा अर्कै अनुभव भइरहेको छ ।’

मोरङका शंकर देवान एनओयुमा अङ्ग्रेजी विषयमा एमफिल गर्दैछन् । उनी पनि पेसाले शिक्षक नै हुन् । ‘टाढा बसियो, जागिर, घरव्यवहार धान्नुपर्छ,’ अन्तिम एक समेस्टर पढ्ने तयारीमा रहेका उनी भन्छन्, ‘उच्च अध्ययन गर्ने सपना अधुरै थियो । अबचाही बाटो खुलेको छ । पढ्ने नयाँ तरिका, नयाँ प्रविधिले लक्ष्यमा पुग्न सजिलो भएको छ ।’

ललिता राई कायस्थ एमएडीएमजीकी विद्यार्थी हुन् । विश्व बैङ्कमा कार्यरत उनी हाल अमेरिकामै छिन् । त्यहाँ रहेपनि आफ्नो अध्ययनमा तोकिएको तालिका त्यही बसेर पूरा गर्दैछिन् । ‘परीक्षा दिनका निम्तिचाहि नेपाल नै आउनु पर्छ,’ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ पदमराज पन्त भन्छन्, ‘प्रत्येक विद्यार्थी कुन देशको कुन ठाउँमा बसेर कक्षा लिंदैछ भन्ने रेकर्ड राख्छौँ ।’

एनओयुमा अहिले ९ सय २ विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने धोको पुरा गर्दैछन् । एनओयुमा सामाजिक तथा शिक्षा, व्यवस्थापन तथा कानुन र विज्ञान, स्वास्थ्य र प्रविधि गरी तीन संकाय सुचारु छ । विश्वविद्यालयले फेब्रुअरी र अगस्ट गरी वर्षमा दुई सेसनको पठनपाठन तालिका तय गरेको छ ।

स्नातक तहअन्तर्गत बिबिएस वार्षिक कोर्स रहेको छ भने चार वर्षे बिबिए, तीन वर्षे एलएलबी सेमेस्टर सिस्टममा सुचारु छ । मास्टर्सका दुई र एमफिलका ९ वटा कोर्स छन् । पेसागत कोर्सअन्तर्गत कक्षा १२ पढेका लाइब्रेरी एण्ड इन्फर्मेसन म्यानेजमेन्ट र मास्टर्स डिग्री गरेकालाई १ वर्षे डिस्टान्स एण्ड इ–लर्निङ पढ्न पाउँछन् । यी विद्यार्थीलाई पढाउन १ सय ५० जना शिक्षक छन् । नेपाल खुला विश्वविद्यालय (एनओयु) सञ्चालनमा आएको दुई वर्ष पुगेको छ । सरकारले उच्च शिक्षामा सबैको पहुँच पुर्याउने लक्ष्यसहित २०७४ जेठबाट अस्तित्वमा ल्याएको हो । मुलुकमा ११ विश्वविद्यालय छन् । तीमध्ये फरक शैलीमा स्थापित हुने क्रममा छ । यस विश्वविद्यालयको डिग्री लोकप्रिय बन्दैछ ।

एनओयुले आर्थिक वर्ष २०७५/७६ मा सात करोड रुपैयाँ सञ्चालन खर्च पाएको थियो । शुक्रवार सम्पन्न विश्वविद्यालयको तेस्रो सभाले २२ करोड ९० लाख रुपैयाँ खर्चको अनुमोदन गरेको उपकुलपति लेखनाथ शर्माले बताए ।‘सरकारबाट प्राप्त सञ्चालन खर्चको दुई तिहाइ बढी छ,’ उपकुलपति शर्मा भन्छन्, ‘सुरुवाती अवस्थामै शैक्षिक गुणस्तरप्रति सम्झौता गर्न नहुने ठहरसहित हामीले विद्यार्थीबाट केही बढी शुल्क लिन बाध्य छौँ । शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति हो । कुनै पदाधिकारीको सेवा सुविधा बढाउन होइन ।’

विश्वविद्यालयको आर्थिक वर्ष २०७६र७७ को बजेट सञ्चालन खर्च सात करोड ३५ लाख रुपैयाँ र भौतिक निर्माणमा सात करोड रुपैयाँ रहेको छ ।शुल्क केही बढी लिनुपर्ने बाध्यताले सामुदायिक विश्वविद्यालय भन्न गाह्रो भएको उनी बताउँछन् । ‘गुणस्तरमा सम्झौता नगर्ने र डिग्री मिल नबनाउने नै हाम्रो अडान हो,’उपकुलपति शर्मा भन्छन्,‘त्यसैले गर्दा पढ्न चाहने र भर्ना भएका प्रत्येक विद्यार्थीले विश्वविद्यालयको मापदण्ड पूरा नगरेसम्म परीक्षा दिलाउँदैनौँ ।’

विद्यार्थीले प्रवेश परीक्षा दिएर प्रारम्भिक कक्षा कार्यशाला अनिवार्य सहभागिता जनाउनु पर्दछ । हरेक आइतबार, सोमबार र मङ्गलवार साँझ ६ बजेदेखि ९ बजेसम्म अनलाइनमार्फत पढाइ हुन्छ । घरको कुनै कोठामा बसेर अनलाइन मार्फत पढ्न सकिन्छ । विश्वविद्यालयले विद्यार्थीहरूको कम्प्युटर तथा ल्यापटमा एलएमएस ९लर्निङ म्यानेजमेन्ट सिस्टम० राखिदिएको हुन्छ वा यो विद्यार्थी आफैले इन्स्टल गर्न सक्छन् । त्यसमा विश्वविद्यालयमा ‘मोडल एप’ जोडिदिएको हुन्छ । प्रत्येक विद्यार्थीको आफ्नै आईडी र पासवर्ड लग इन गरेपछि त्यो खुल्छ अनि पढ्न सक्छन् । पाँच विषयको सिलेबल्स, कोर्सहरू खुल्छन् । विश्वविद्यालयले उपलब्ध गराएको आइडीले गर्दा नेपालको कुनै कुनामा रहेर विदेशको कुनै सहरमा बसेर तोकिएको समयभित्र कक्षामा उपस्थित हुनसक्छ । ‘सर्त पुरा नगरे एनक्यु ९नट क्वालिफाई० लाग्छ,’ उपकुलपति शर्माको कथन छ ।

शोधार्थी विश्वकर्माको खुला मोडलाई अझ सहज बनाउनु पर्ने बताउँछन् । ‘दूरदराजमा रहेका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, सेमिनार, वर्कसपमा सहभागिता गराउन जरुरी छ,’ खुला मोडको पढाइलाई गुणस्तरका निम्ति अन्य विश्वविद्यालय प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्ने उल्लेख गर्दै उनी भन्छन्, ‘जसले गर्दा आफ्नै परिवेशमा अध्ययन, अनुसन्धान गर्न सघाउ पुर्याओस् ।’ खुला विश्वविद्यालय सञ्चालनमा आएको दुई वर्षमा १७ वटा विषयको कोर्स पठनपाठन गरेको छ । आगामी अगस्टबाट पत्रकारिता लगायत सात विषय थपिने जनाइएको छ ।

एनओयुको आफ्नै भौतिक संरचना छैन । ‘जग्गा प्राप्तिका निम्ति सरकारसँग अनुरोध भएको छ,’ शर्मा भन्छन्, ‘भवन निर्माणका निम्ति हामीसित १६ करोड रुपैयाँ बजेट मौजुदा छ । जग्गा पाएमा तत्काल अघि बढ्छौँ ।’ गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को विशेष पहलमा सरकारले अघि बढाएको हो । एनआरएनएसित सहकार्य जारी रहेको उपकुलपति शर्माले जनाएका छन् ।

प्रतिक्रिया