दैलेखमा ‘शहीद सार्वजनिक पुस्तकालय’

दैलेखमा ‘शहीद सार्वजनिक पुस्तकालय’

हिक्मतबहादुर नेपाली
दैलेख भदाै १६
। वि.स. २०४२ तिर नारायण नगरपालिका–१ मा पहिलो पटक पुस्तकालय स्थापना भयो । नारायण मन्दिर नजिक रहेको जिल्लाकै पहिलो र ऐतिहासिक पुस्तकालयको अस्तित्व संकटमा पर्दै गयो । ‘कान्ति पुस्तकालय’ नाम दिईएको उक्त पुस्तकालय स्थानीयले चासो नदिँदा केहि बर्षमै बन्द हुन पुग्यो । पुस्तकालयमै बसेर किताब पढ्न कोही नआउने, पुस्तकालयबाट किताब लिएपनि फिर्ता नगर्ने जस्ता कारणले २०४७ पछि पुस्तकालय बन्द भएको जानकारहरु बताउँछन् । उक्त पुस्तकालय बन्द भएपछि जिल्लामा पुस्तकालय सञ्चालनमा ल्याउन कसैले चासो दिएन् ।
‘कान्ति पुस्तकालय’ बन्द भएको झण्डै तीन दशक पछि ‘शहीद सार्वजनिक पुस्तकालय’ स्थापना भएको छ । जिल्ला समन्वय समितिको खाली भवनलाई सदुपयोग गर्दै एउटा कोठामा पुस्तकालयको संरचना तयार पारिएको छ । शहीद मायाराम रेग्मी स्मृती प्रतिष्ठानको सम्झनामा पुस्तकालय स्थापना गरिएको हो । दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीमा १९८५ मा जन्मिएका मायाराम रेग्मी पञ्चायती शासन विरुद्ध सक्रिय रहेको आरोपमा तत्कालिन प्रशासनले सदरमुकामको गौडाघरमा कुटपिट गर्दा २०१८ माघ मा ज्यान गएको थियो ।
कर्णाली प्रदेश सरकारको सहयोगमा उनै शहीदको सम्झनामा सार्वजनिक पुस्तकालय स्थापना गरिएको हो । सामाजिक विकास मन्त्रालयको तीन लाख र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको दुई लाख सहयोगमा पुस्तकालय स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष टेकबहादुर खाँणले बताए । ‘सामाजिक विकास मन्त्रालयले तीन लाख बराबरको पुस्तक उपलब्ध गराएको छ,’ अध्यक्ष खाँणले भने ‘वातावरण मन्त्रालयले प्रदान गरेको बजेट पनि पुस्तक खरिद गर्नमै खर्च गरेका छौ ।’
पुस्तकालयमा पाँच लाख रुपैयाँ बराबरको करिब १२ सय थान पुस्तक र आवश्यक फर्नीचर रहेको अध्यक्ष खाँणले जानकारी दिए । जिल्ला समन्वय समिति परिषरको एउटा कोठा लिएर स्थापना गरिएको पुस्तकालको उद्घाटन गरिएको छ । १२ औँ पुस्तकालय दिवसको अबसरमा जिल्ला समन्वय समितिद्धारा दैलेखमा आयोजित विशेष कार्यक्रममा पुस्तकालय उद्घाटन गरिएको हो ।
पुस्तकालयको कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापा, जिसस प्रमुख प्रेमबहादुर थापा लगाएतले संयुक्त रुपमा उद्घाटन गरे । प्रदेशका सांसद अम्मरबहादुर थापाले पुस्तकालयको छुट्टै भवन निर्माण गर्नुपर्नेमा जोड दिए । जिसस प्रमुख प्रेम बहादुर थापाले विद्यार्थी, अभिभावक र पाहुनाहरुका लागि पुस्तकालय फुर्सदिलो समय सदुपयोग गर्ने गतिलो माध्यम बन्ने बताए ।

प्रतिक्रिया