४ हजार जनाको निशुल्क स्वास्थ्य परिक्षण

४ हजार जनाको निशुल्क स्वास्थ्य परिक्षण

दैलेख मंसिर २२ । दुल्लु अस्पतालमा सम्पन्न दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविरबाट ४हजार १६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा एक हजार दुई सय ५३ जना विद्यार्थीले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा स्वास्थ्य परिक्षण गराए ५० मध्ये १७ जनाको निशुल्क शल्यक्रिया गरिनेभएको छ । त्यस्तै ७ सय ५३ जनाले इसिजी सेवा लिएका छन् भने एक सय ५० जनाले ल्याब र पाँच सय ९७ जनाले इको सेवा लिएका छन् । शिविरमा मुटु सम्बन्धि गम्भिर समस्या देखिएका चार जनालाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । शिविरमा दुल्लु, नारायण, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी, महाबु गाउँपालिकाका स्थानीयले स्वास्थ्य परिक्षण गराएका हुन् ।
शिविरमा मुटुरोग, बालरोग, स्त्रीरोग र हाडजोर्नी लगायतका रोगहरुको परीक्षण गरिएको छ । शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, नेपाली सेना उत्तर पश्चिम पृतनापति प्रा. सह–सेनानी डा. विकेश तिवारी लगायतका डाक्टरहरुले बिरामीहरुको उपचार गरे । सेभ द हार्ट, लाजिम्पाट काठमाडौं, मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, सेन्टर त्रिवी शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं, कर्णाली प्रदेश अस्पताल सुर्खेत, शुभकामना पोलिक्लिनिक सुर्खेतले प्राविधिक सहयोग, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा दुल्लु नगरपालिका र दुल्लु अस्पतालद्धारा आयोजित शिविरको व्यवस्थापन दैलेखी सेवा समाज काठमाडौंले गरेको थियो ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लु नगरपालिकाका नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेको बताए । उनले दुल्लु अस्पताललाई स्तरोन्तीको पहल भईरहेको बताए । दैलेखी सेवा समाजको अध्यक्ष प्रताप शाहीले यसअघि दैलेख सदरमुकाममा शिविर सञ्चालन गरिएको बताउँदै हाल दुल्लु नगरपालिकामा शिवर सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया