कक्षा कोठामा अभिभावक

कक्षा कोठामा अभिभावक

दैलेख पुष २० ।
गुराँस गाउँपालिका–४ चिसापानीकी रुपा खड्का दैनिकजसो विद्यालय पुग्छिन् । विद्यालयमा आफ्ना बालबालिकाको पढाईको अवस्था बुझ्छिन । ‘बालबालिकाले पढेका छन् की छैनन, शिक्षकले पढाएका छन् की छैनन् बुझ्न विद्यालय जान्छौ,’ खड्काले भनिन् ‘सामुदायिक विद्यालयमै गुणस्तर सम्भव छ ।’ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्वि गर्न अभिभावक नै सक्रिय हुनुपर्ने खड्काको बुझाई छ ।
रुपा जस्तै गुराँस गाउँपालिका–४ चिसापानी स्थित बाल कल्याण प्रावीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु सक्रिय हुन थालेका हुन् । उनिहरु दिनहुँजसो विद्यालय पुग्ने गरेका छन् । अभिभावकहरु पालैपालो विद्यालय जान्छन्, आफ्ना बालबालिकाको पढाईको अवस्था बुझ्छन्, बालबालिकालाई प्रोत्साहन गर्छन् । अभिभावकहरु केहि समय कक्षा कोठामै बस्छन् । विद्यालयको पढाई सुधार गर्न र शिक्षकको अनुगमन गर्न अभिभावकहरु पनि विद्यालय जाने गरेका हुन् ।
विद्यालयमा जंग फुड निषेध गरिएको छ । अभिभावकहरुले टिफीनमा समेत घरेलु खाजा बनाएर पठाउने गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिसीले बताए । विद्यार्थी विद्यालय नआएको खण्डमा के कारणले आएनन् भन्नेबारे अभिभावकहरुलाई फोन गरेर सोध्ने गरेको उनको भनाई छ । ‘यसले विद्यार्थीहरु विद्यालयमा नियमित आउने क्रम बढेको छ,’ बिसीले भने ।
गुराँस गाउपालिकाको समन्वयमा सोसेक दैलेख र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले विद्यालयलाई सहयोग गरेको परियोजनाका फिल्ड अधिकृत लक्ष्मी चलाउनेले बताइन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावकहरुसँग अन्तरक्रिया लगाएतका क्रियाकलाप सञ्चालन भईरहेको अधिकृत चलाउनेको भनाई छ ।

प्रतिक्रिया