जरा र हाँगाबाट कलाकृति (तस्बिर)

जरा र हाँगाबाट कलाकृति (तस्बिर)

हिक्मतबहादुर नेपाली
दैलेख माघ ८ गते ।
जिल्लाको गुराँस गाउँपालिका– ४ गाइबान्नाका भीमबहादुर शाही उमेरले ६० काटे । बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्ने शाही पढ्दापढ्दै भारतीय सेनामा प्रवेश गरे । जीवनको लामो समय भारतीय सेनामा बिताएका शाही अहिले खेर गएको काठ कुँदेर विभिन्न आकृति बनाउन व्यस्त छन् ।

सेनाबाट अवकाश पाएर घर फर्किएका अधिकांश व्यक्ति सुविधायुक्त ठाउँमा बस्छन् । तर उनी घर फर्किएर आफ्नो बाल्यकालको सोच पूरा गर्न लागेका छन् । ‘गाइबान्ना गाउँलाई चटक्कै छोड्न सकिनँ, छोराबुहारीसहित सबै परिवार सुर्खेतमा बस्छन्’, उनले भने, ‘म पेन्सनले जीवन चलाउँदै गाउँमा आफ्नो बाल्यकालको सोच पूरा गर्न लागेको छु ।’
उनको काममा उनकी श्रीमतीले सघाउँदै आएकी छन् । १० वर्षअघि गुराँसे पातीकान्ला सडक निर्माण सुरु भयो । आँगनैबाट सडक आउँदा उनी एकातिर खुसी थिए । तर अर्कोतिर दुःखी पनि । गुराँसका जंगल उजाडिँदै गएपछि खिन्न भएका शाही सडक खन्दा मासिएका रूखका हाँगा, जरा, फेदबाटै विभिन्न आकृति बनाउन थालेका हुन् ।

खेर गएका रूखका जरा हाँगा संकलन गरी मयूर, जरायो, गाई, चरा, सर्प, मान्छेलगायतका आकृति बनाउने गरेको उनले बताए । घर नजिकै व्यक्तिगत लगानीमा शिवलिंग, साँढेको मूर्ति स्थापना गरेका छन् । उक्त स्थान पछिल्लो समय पर्यटकीय ठाउँको रूपमा विकास हुन थालेको छ । काठका आकृति बनाउने काम जाति विशेषले मात्रै गर्ने हो, भन्ने सोचाइको अन्त्य गर्न उनी समाजमा प्रेरणाको स्रोत बन्दै गएका हुन् । उनको काष्ठकलालाई सबैले सम्मान गर्न थालेपछि उनी खुसी छन् ।
‘यहाँ आउनेहरू केहीबेर बसेर मैले बनाएका आकृतिसँग रमाउछँन्, फोटो खिच्छन्, मनपर्नेले खरिद गर्छन्’, उनले थपे, ‘अब यसैलाई व्यावसायिक बनाउँछु, अहिले कुनै पनि आकृतिको ठ्याक्कै मूल्य नतोकेर बेच्छु ।’ यस्ता कला भएका व्यक्तिलाई स्थानीय सरकारले समेत सम्मान गर्नुपर्ने स्थानीय जयनारायण सापकोटाको भनाइ छ ।

प्रतिक्रिया