कुष्ठरोग पीडित : परिवार र आफन्तबाटै अपहेलित

कुष्ठरोग पीडित : परिवार र आफन्तबाटै अपहेलित

दैलेख माघ १२ । कुष्ठरोग पीडितहरु परिवार र आफन्तबाटै हेला र अपहेलित हुने गरेको भन्दै उनिहरुप्रति गरिने व्यवहार अन्त्य तथा रोग न्यूनीकरण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । ‘कुष्ठ रोग विरुद्ध हाम्रो अभियान ः भेदभावको अन्त्य मानव अधिकारको सम्मान’ भन्ने मुल नारा सहित ६७ औँ कुष्ठ रोग दिवसको अबसरमा नारायण नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित अन्तरक्रियाका सहभागिहरुले कुष्ठरोग पीडितहरु प्रति गरिने व्यवहार परिवर्तनमा जोड दिएका हुन् । जिल्लामा क्रियाशिल पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र हमालले कुष्ठ रोगबारे जानकारी गराएका थिए । उनले जिल्लाभर १२ जना कुष्ठरोगका बिरामी रहेको जानकारी दिए ।
कार्यक्रममा नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ले नारायण नगरपालिका कुष्ठरोग रहित रहेको भन्दै जिल्लामा कुष्ठ रोग न्यूनीकरण गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा दैलेख जिल्ला अस्पताल विकास समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगाएत जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।
एक तथ्यांक अनुसार अहिले पनि कर्णाली प्रदेशमा प्रति एक हजार व्यक्तिमा चार जना कुष्ठरोगको संक्रमित छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको तथ्यांक अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै कर्णालीमा ५ सय ४६ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका हुन् । जसमध्ये आर्थिक वर्ष ०७१/७२ मा १ सय ८ जना, ०७२ / ७३ मा १ सय १९ जना, ०७३ / ७४ मा १ सय १५, ०७४ / ७५ मा पनि १ सय १५ र ०७५ / ७६ मा ८९ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । सबैभन्दा बढी कुष्ठरोगका बिरामी कर्णालीको जाजरकोटमा भेटिने गरेका छन् ।

प्रतिक्रिया