शैक्षिक गुणस्तर सुधार्दै शिक्षक अभिभावक

शैक्षिक गुणस्तर सुधार्दै शिक्षक अभिभावक

हिक्मतबहादुर नेपाली
दैलेख माघ १७

गुराँस गाउँपालिका–४ गाईबान्नामा रहेको लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा दिनहुँ अभिभावकहरु विद्यार्थीसँगै आउँछन् । दिनभर विद्यालयमा बस्छन्, विद्यालयको हाता सरसफाई गर्छन । हरेक दिन पालैपालो विद्यालय पुग्ने अभिभावकहरु विदा भएपछि विद्यार्थीहरुसँगै घर फर्कन्छन् । शिक्षक नभएको दिन पढाउँछन् । दिनहुँ विद्यालयमा आई आफ्ना बालबालिकाहरुको पढाईबारे सोधपुछ गर्ने, शैक्षिक सुधारका लागि शिक्षकहरुसँग छलफल गर्ने गरेको अभिभावक अग्नीप्रसाद कंडेलले बताए । ‘स्थानीय स्रोत साधनबाट शैक्षिक सामग्री निर्माण गर्न अभिभावकको सक्रिय छन्,’ कंडेलले भने ‘अभिभावकहरु विद्यालय जान थालेपछि पढाईमा सुध्रिएको छ ।’ अभिभावकहरुले विद्यालयमा कति जना विद्यार्थी उपस्थिती भए, कति शिक्षक आए, कसरी पढाई हुन्छ, विद्यालयमा समस्या के के छन्, लगाएतका विषयमा केन्द्रित हुने गरेका छन् । विद्यार्थीहरुले नियमित घरबाटै खाजा ल्याएर खाने गरेका छन् ।

आफ्ना अभिभावकहरु आफुसँगै विद्यालय आउँदा खुसी लाग्ने गरेको कक्षा तीनमा अध्ययनरत पवित्रा कंडेलले बताइन् । बाल शिक्षा देखि कक्षा ३ सम्म ४४ जना विद्यार्थी रहेको प्रधानाध्यापक शान्तिकुमारी शर्माले बताइन् । विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् । ‘शैक्षिक गुणस्तर सुधार्न शिक्षक अभिभावक हातेमालो गरिरहेका छौ,’ शर्माले भनिन् ‘अभिभावकहरु दिनुहँ विद्यालय आउन थालेपछि विद्यार्थीहरु पनि नियमित आउने गरेका छन् ।’ सिकाई उपलब्धी बृद्धिका लागि विद्यालयको हरेक कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशन र बालमैत्री शिक्षण विधि अपनाइएको प्रधानाध्यापक शर्माले बताइन् । कक्षा कोठामा टाँगिएका शैक्षिक सामग्री हेर्दै पढ्ने र सिक्ने तरिका अपनाइएको उनको भनाई छ ।

विद्यालयमा निर्माण गरिएको शैक्षिक सामग्रीहरु ।

विद्यालयको हरेक कक्षा कोठामा शैक्षिक सामग्रीले सजिएका छन् । कक्षा कोठाको वातावरण रमाइलो बनाएर बालबालिकाको सिकाईलाई सुधार गर्ने उदेश्यले कक्षा कोठाका भित्तामा कागजमा विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्यांक, बाक्यहरु लेखेर झुण्ड्याइएको छ । स्थानीय स्रोत साधनलाई सदुपयोग गरि शैक्षिक सामग्री निर्माण गरिएको प्रधानाध्यापक शर्माले बताइन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गुराँस गाउँपालिकाको समन्वयमा, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले विभिन्न सहयोग गर्दै आएको छ ।
शैक्षिक सामग्री प्रर्दशन

विद्यालयमा निर्माण गरिएको शैक्षिक सामग्री बिहिवार प्रर्दशन समेत गरिएको छ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमीको अबसर पारेर शैक्षिक सामग्री प्रर्दशन गरिएको हो ।
सोहि अबसरमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागिपरेको बताए । अध्यक्ष ओलीले सहयात्रा दोस्रो परियोजनाले गाउँपालिका भित्र शिक्षाको क्षेत्रमा गरेको काम अतुलनीय रहेको औल्याए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सेभ द चिल्ड्रेनका टिका विक, सोसेकका कार्यक्रम निर्देशक नवराज बिसी लगाएतले बोलेका थिए ।
तस्विरहरू हिक्मतबहादुर नेपाली

प्रतिक्रिया