पर्यटकको पर्खाइमा आकर्षक पर्यटकीय स्थल

पर्यटकको पर्खाइमा आकर्षक पर्यटकीय स्थल

कृष्णप्रसाद अधिकारी-दैलेखको भगवतीमाई गाउँपालिका पर्यटकीय दृष्टिले निकै आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सुन्दरताको एक टुक्रा हो भगवतीमाई । तर, यो ठाउँ पर्यटन विकासमा एक पाइलासमेत अगाडि बढन सकेको छैन । यो ठाउँ पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचार–प्रसारको अभावमा आन्तरिक तथा वाहृय पर्यटक भित्रिन सकेका छैनन् । पर्यटनको धेरै सम्भावना बोकेको गाउँपालिका पर्यटकको पर्खाइमा छ । यो गाउँपालिका–१ को कुम्री खोलादेखि वडानम्बर–४ को मनघरचौरसम्म करिब १८ किमी भू–भाग मध्यपहाडी लोकमार्गमा जोडिएको छ ।

जिल्लामा रहेका ११ वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकामदेखि करिब २२ किमी पूर्वमा जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय २६ मिटर उचाइमा रहेको छ । गाउँपालिकाकोे कार्यालय भने समुन्द्री सतहदेखि एक हजारा मिटरको उचाइमा छ । गाउँपालिकाको सिमाना पूर्वमा जाजरकोट, पश्चिममा डुंगेश्वर गाउँपालिका र नारायण नगरपालिका, उत्तरमा नौमूले गाउँपालिका र दक्षिणमा गुराँस गाउँपालिकासँगै जाजरकोट जिल्लाको केही भू–भाग पर्दछ ।

भगवतीमाई गाउँपालिका कृषि, स्लेट ढुंगा र वन सम्पदाका हिसाबले अत्यन्त सम्भावना बोकेको गाउँपालिका हो । केही भू‐भाग वेशी, खोंच, केही भू‐भाग मध्य पहाड र केही क्षेत्रहरू उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँ मिश्रित खालको हावापानी पाईन्छ । यसले पनि यहाँको सुन्दरता र वातावरणलाई रमणिय बनाएको छ ।

यस्तै गाउँपालिकाकोे सामाजिक रितिरिवाज र चार्ड पर्वमा लोपोउन्मुख नाच लहरेपैचरी, गर्रा, मारुनी, लोकदोहोरी, लोकगीत, लोकदेउडा, ठाडोभाका लगायतका स्थानीय कला संस्कृतिहरू प्रस्तुत हुन्छन् । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय स्थलहरू पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावनायुक्त स्थलहरू गाउँपालिकामा छन् । प्राकृतिक सौन्दर्यताले यहाँको सुन्दरतामा थप निखार ल्याएको छ । यस वर्ष यहाँका आकर्षक पर्यटकीय गन्तव्यमा एक पटक भ्रमण गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ ।

नयाँमालिकाः गाउँपालिकाको वडा नम्बर १, २ र नारायण नगरपालिकाको वडा नम्बर ११ को बीचमा करिब ३३ मिटर उचाईमा रहेको मालिका लेकमा बाजुरा जिल्लामा रहेको वडिमालिका देवीकी बहिनीको बासस्थान रहेको संस्कृत विद्हरू बताउँछन् । यो मन्दिरमा परम्पराकालदेखि नै पुजाआजा गरिँदै आएको र यस ठाँउको दर्शन गरेर मागको बर पाइन्छ भन्ने जन विश्वास रहेको छ । मालिकामाईको दर्शन गरेमा निःसन्तानलाई सन्तान प्राप्त हुने समते विश्वास रहेको छ । त्यसैले पनि यहाँ टाढाटाढाबाट मानिसहरू दर्शन गर्न आउने गर्दछन् ।

मालिकामाईको मन्दिर पहाडको उच्च स्थानमा रहेकोले पनि यो स्थान निकै रमणीय मानिन्छ । वरिपरि हरिया जंगल, शान्त र सुन्दर यस ठाउँमा पुग्ने जो कोहीले मन भित्रका सबै तनाव क्षणभरमा नै बिर्सनछन् । भौगोलीक सुन्दरता हेर्न पाइने र केही समयका लागि भए पनि तनाव मुक्त हुने भएकाले मान्छेको यहाँ आउने गर्छन् ।

विभिन्न जनावरः कस्तुरी, भालु, बँदेल, स्याल, बाघ, गुना, बाँदर, मृग, व्वाँसो, दुम्सी, खरायो, मलछाप्रो, चराचुरुङ्गी, डाँफे, कालिज, च्याखुरा, ढुकुर, हलेसो, चिल, गिद्ध, लाटोकोशेरो, तित्रा, कोईली आदि प्रमुख छन् । यहाँ रहेको मालिका मन्दिरमा विशेष गरेर वैसाख १ र माघ १ गते मेला लाग्ने गर्दछ ।

यस मेलामा साविक पगनाथ, रुम, विन्ध्यावासिनी, सल्लेरी, चौराठा, र नारायण नगरपालिकाबाट समेत भक्तजनहरू आउने गर्दछन् । अझै यसको महत्व सबैतिर फैलाउन सके आन्तरिक तथा बाह्य पर्यटकको भित्र्याउन सकिने स्थानीय बताउँछन् । पर्यटनको निकै सम्भवना भएर पनि यो ठाउँ प्रचार प्रसारका कमिले पछि परेको छ ।

शिखरद्वारीः यस गाउँपालिका–७ मा करिब लोहोरे खोलादेखि दुई हजार मिटर उचाईमा रहेको शिखरद्वारी मन्दिर र चमेरे गुफा पर्यटकीय हिसाबले हेर्न लायक र पर्यटकीय आकर्र्षक गन्तव्य हुन् । यहाँ वातारणीय सुन्दरताले मनै लोभ्याउने ठाउँहरू छन् । शिखरद्वारी मन्दिर धार्मिक दृष्टिले निकै ठूलो विश्वास रहेको स्थान हो ।

लेकमा सुन्दर र शान्त वातावरणमा जंगलसँगै रहेको चमेरे गुफा पनि एक सुन्दर पर्यटकीय क्षेत्रमा पर्दछ । तर, यो ठाउँ पनि प्रचार–प्रसाको कमीले गर्दा गोठालाहरूको लुकामारी गर्ने ठाँउकारूपमा सीमित छ । यसको प्रवद्र्धन र प्रचार प्रसार गर्ने सके केही हदसम्म आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिई गाउँपालिकाको आर्थिक उन्नतीमा टेवा पुग्ने देखिन्छ ।

शिव मन्दिर
शिव मन्दिर भगवतीमाई गाउँपालिकाको केन्द्र नजिककै रहेको धार्मिक पवित्र स्थल हो । यो मन्दिर जानको लागि मध्यपहाडी राजमार्गबाट मन्दिरसम्म ५ सय ७६ वटा सिँडी चडेर मन्दिर पुग्न सकिन्छ । अग्लो पाहाड माथिल्लो स्थानमा रहेको यो मन्दिर धार्मिक र सांस्कृतिकरूपमा धेरै महत्व बोकेको ठाँउ हो । यो मन्दिरमा महाशिवरात्रिमा ठुलो मेला लाग्ने गर्दछ । यस मेलामा स्थानीय भक्तजनहरूको भिड लाग्दछ । पर्यटनको हिसाबले पनि धेरै रमणीय ठाँउ भएकोले एकपटक यस ठाँउमा पुगेर रमाउँ र पुण्य कमाऊँ भन्ने गरिन्छ ।

गाउँपालिकाको नाम नै मन्दिरबाटः यस गाउँपालिकाको अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र हो वडा नम्बर ३ मा रहेको भगवतीको मन्दिर । वर्षमा दुई पटक मंसिरको दशमी तथा चैत्र महिनाको दशमीका यस मन्दिरमा मेला लाग्ने गर्दछ । उक्त मेलामा नाच गान मनोरञ्जन कार्यक्रम हुन्छ भने हजारौँ राँगा तथा बोकाको बली दिने प्रचलन रहेको छ । भगवतिको यस मन्दिरमा आई भाकल मागेमा पूरा हुने विश्वासले दैलेख, सुर्खेत जाजरकोट कालिकोट अछाम, लगाएतका जिल्लाबाट दर्शन गर्ने आउँनेको भिड लाग्दछ ।

भगवतीमाई गाँउपालिका–६ मा धेरै भरना छन् । यहाँको बेस्तडा बजारदेखि २० की.मीको दूरीमा यो स्थान रहेको छ । यस झरनाले भगवतीमाई गाँउपालिकाको शोभा बढाउने र पयर्टनको आकर्षण गर्ने गरेको छ । यस झरनाको उचाइ हालसम्म कसैले पनि नाप र प्रचार प्रसार नगरेकाले यसको महत्व बढ्न सकेको छैन

यसरी मनाउँदै आएको यस मन्दिरको नामबाटै यस स्थानीय तहको नाम समेत रहेको छ । गाउँपालिकाको नामाकरण गर्ने समयमा समेत अन्य कुनै नाम उपयूक्त नहुदाँ र मन्दिरको प्रचार प्रसार गर्नकै लागि गाउँपालिकाको नाम भगवतीमाई राखिएको स्थानीयले बताए । वरिपरि गाउँ बिचमा कयौँ बर्ष पुरानो भगवतिको मन्दिर पूजा आराधानाको लागि अति नै राम्रो मानिन्छ । यसको संरक्षण गर्ने सकेको खण्डमा गाउँपालिकाकै एक महत्वपूर्ण पर्यटकीय स्थल बनाउन सकिने समेत गाउँ स्थानीहरू बताउँछन् । तर, गाउँपालिकाले भने यसतर्फ खासै ध्यान दिन सकेको छैन ।

भेरी लेकः भगवतीमाई गाँउपालिका दैलेख र जुनिचाँदे गाउँपालिका तथा छेडाघाट नगरपालिका (जाजरकोट) को सिमानामा रहेको यो स्थानको सुन्दरताले जो कोहीको मनै लोभ्याउन सक्छ । समयसँगै यो लेकको दृश्य परिवर्तन हुने स्थानीयको भनाइ छ । यहाँको लेक कहिले हिउँले सेताम्मे त कहिले गुराँस भुलेर राताम्यै भएको देखिन्छ ।

यो क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । यस ठाँउमा विभिन्न प्रजातिका पशुपंक्षी, जीव जनावर र चिसो हावापानी हुने भएकाले गर्मी मौसमका लागि दैलेखको गुराँसे सबैको रोजाइमा पर्ने गरेको छ । यहाँ विभिन्न प्रजातिका लालिगुराँस फुलेर मनै लोभ्याउने दृश्य र सुमधुर कोइलीको धुन डाँफे मयूर को नाच हेर्न पाइन्छ । यस्तै करिब १५० बढी प्रजातिका चराहरूको आवाज सुन्न पाइने यस ठाउँमा बसन्त ऋतुमा त्यहाँ पुन्ने जो कोही मोहित हुने गर्दछन् ।

यहाँको सुन्दर देख्दा शरीरको सबै प्रकारको पीडा र मनको चिन्ता कम हुने स्थानीय बताउँछन् । यहाँ प्रचूर मात्रामा जडिबुटी समेत रहेकाले यस क्षेत्रका जडिबुटी संकलन गरी प्रशोधन गर्ने सकेको खण्डमा गाउँपालिकाको आर्थिक स्रोत बलियो हुने छ । त्यसो गर्दा गाउँपालिका आफैँमा आत्मनिर्भर हुनसक्ने देखिन्छ ।

गोठी झरनाः भगवतीमाई गाँउपालिका–६ मा धेरै भरना छन् । यहाँको बेस्तडा बजारदेखि २० की.मीको दूरीमा यो स्थान रहेको छ । यस झरनाले भगवतीमाई गाँउपालिकाको शोभा बढाउने र पयर्टनको आकर्षण गर्ने गरेको छ । यस झरनाको उचाइ हालसम्म कसैले पनि नाप र प्रचार प्रसार नगरेकाले यसको महत्व बढ्न सकेको छैन । यसको वास्तविक नाप गरी प्रचार प्रसार गर्न सकेमा यसको सुन्दरता हेर्ने पर्यटकलाई आर्कषणको केन्द्र बनाउँन सकिने भन्दै स्थानीयले चासो दिन थालेका छन् । भरनालाई वरिपरि घनाजंगलले घेरेको छ । जंगलको बीचमा रहेको यो झरनाको महत्व गर्मी मौसममा निकै बढने देखिन्छ । चिसो हावापानी भएको यस स्थानमा लोपोन्मुख प्रजातिका जनावरसमेत हेर्न पाइन्छ । केहीसमय पहिलासम्म यातयातको सुविधा नभएकाले पैदलयात्रा गरी जानु पर्ने यस ठाउँमा अहिले भने सडक सञ्जाल जोडिएकाले पर्यटनको घुइँचो लाग्ने गरेको छ ।

यो ठाउँ धेरै दृष्टिले आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सकिएको छैन सम्भावना भएर पनि पछि परेको छ । नेपाल सरकारले सन २०२० लाई भम्रण वर्षको रूपमा स्वागत गरीरहेको वेलामा यस गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटक भित्र्याउन सहयोग पुग्ने गरी यस स्थलको प्रचार प्रसार गर्नु आवश्यक देखिन्छ । यसले यहाँको जनताको आर्थिक अवस्थामा सुधार गर्ने र जीवन धन्नका लागि विदेशीन बाध्य युवाका लागि यहीँ अवसर सिर्जना गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया