स्थानीय तहले शिक्षा क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको आरोप

स्थानीय तहले शिक्षा क्षेत्रलाई नियन्त्रणमा लिन खोजेको आरोप

दैलेख : नेपाल शिक्षक संघका केन्द्रीय सभापति राजेन्द्रप्रसाद पौडेलले स्थानीय तहहरुले शिक्षा क्षेत्रलाई बढी नियन्त्रणमा राख्ने र शिक्षकहरुलाई हतोत्साही बनाएको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ दैलेखको २१ औं प्रतिनिधिसभा कार्यक्रममा शनिवार दैलेखमा उनले यस्तो टिप्पणी गरे । शिक्षकहरु ऐन कानूनले तोकिएको जिम्मेवारीमा काम गरिरहेको अवस्थामा पनि स्थानीय सरकारहरुले बढी नियन्त्रणमा राख्न, शिक्षक नियुक्ति र प्रशासनिक काममा समेत हस्तक्षेप गर्ने गरेको कारण शिक्षकहरुको मनोवल गिराएको संघका केन्द्रीय सभापति पौडेलले बताए ।
नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णकुमार बीसीले शिक्षकहरुलाई राजनीति पूर्वाग्रह राखेर व्यवहार गर्ने गरेको भन्दै शैक्षिक गुणस्तर सुधारका निम्ति अभिभावक र विद्यार्थीको भूमिका बढाउन सरकारका नीति कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्वसभापति जगतजंग थापा, नेपाल शिक्षक संघका संस्थापक जिल्ला सभापति खेमराज केसी, नेपाल महिला संघका सभापति सीता रानाले शिक्षा क्षेत्रको विकासका लागि शिक्षक संघको भूमिका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका कर्णाली प्रदेश अध्यक्ष इलम शाही, महासचिव मक्क बहादुर बुढा, राहत शिक्षक सवालमा प्रकाश ओली, हितान दैलेखका कनक शाही, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा, सामाजिक विकास कार्यालयका प्रमुख झलक कोइराला लगायतले जिल्लाको शैक्षिक विकासमा सरोकारवालाहरुको सहयोग बारे आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा सहभागीहरुले सामाजिक विकास कार्यालयका प्रमुख झलक कोइरालाकी छोरी सिखा कोइरालाको उपचारका लागि संकलन गरिएको ४८ हजार १ सय ५० रुपैंयाँ हस्तान्तरण गरिएको थियो । बोनम्यारो समस्याका कारणउ नको काठमाण्डौंमा उपचार भइरहेको छ ।
नेपाल शिक्षक संघको संस्थागत विकास र शैक्षिक सवालमा छलफल गर्न विधानमा भएको व्यवस्था अनुसार प्रतिनिधिसभा कार्यक्रम भएको हो । संघले अघिल्लो महिना स्थानीय तहगत प्रतिनिधिसभा छलफल गरिसकेर यस पटक जिल्ला स्तरको कार्यक्रम गरिएको हो । कार्यक्रम गर्नु अघि बाजागाजा सहितको नारा जुलुसले नगर परिक्रमा गरी जिसस सभाहलमा पुगेर सभा सुरु भएको थियो ।

प्रतिक्रिया