दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख : जिल्लामा दुई जना औलो (मलेरिया) का बिरामी भेटिएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोग दैलेखका दुई जनामा फेला परेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । कार्यालयद्धारा आयोजित पत्रकारहरुसँग स्वास्थ्य सम्बन्धि अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लाका बालबालिकाहरु दादुरा र रुवेला विरुद्धको खोप पाउनबाट बञ्चित छन् भने कमतौल भएका जन्मिने क्रम रोकिएको छैन् । अधिकांश गर्भवती महिलाहरुले चार पटक गर्भ जाँच नगरेको पाइएको छ । जिल्लामा अहिले १५ जना कुष्ठरोग पीडित, १५५ सय जना क्षयरोगी र २११ जना एचआइभी संक्रमित रहेको बताइएको छ ।

कार्यक्रममा अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले अस्पतालका मुख्य उपलब्धीहरुबारे जानकारी गराए । उनका अनुसार अस्पतालमा फार्मेसी सेवा, सामाजिक सेवा इकाई स्थापना र सञ्चालन गरिएको छ । यस्तै अप्रेसन कक्षको स्तरोन्ती गरिएको छ भने बायोमेडिकल ल्याव सेवा सञ्चालन भईरहेको छ । ‘फिजियोथेरापी सेवा स्थापना गरि सञ्चालनमा ल्याएका छौ,’ डा पन्तले भने ‘योग साधना केन्द्र स्थापना गरेका छौ ।’ प्रयोगशाला सेवाको स्तरोन्ती गरिएको उनले बताए । सोहि अबसरमा अस्पतालका डा.जिना सापकोटाले कोरोना भाइरस, भाइरसबाट बच्ने उपाएबारे जानकारी दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले दैलेख जिल्लामा रहेका ११ वटा स्थानिय तहका स्वास्थ्य शाखाहरुले प्रभावकारी रुपमा काम नगरेको भेटिएकोले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पत्रकारहरुले निगरानी गर्न आग्रह गरे । अस्पताल विकास समितिका अध्यक्ष लोमन शर्माले अस्पतालमा धेरै सेवा थपिएकाले सबैले नागरिकलाई समेत यसको जानकारी दिन संचार माध्यमको भुमिका ठुलो रहने बताए । पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले स्वास्थ्य सेवा कार्यालय सँगै स्थानीय तहका स्वास्थ्य शाखाहरु सञ्चारमैत्री हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया