राकमकर्णालीमा सय शैयाको शिक्षण अस्पताल बनाउने सम्झौता

राकमकर्णालीमा सय शैयाको शिक्षण अस्पताल बनाउने सम्झौता

दैलेख : कर्णाली राजमार्गको बीच भागमा पर्ने आठबीस नगरपालिका–४ राकमकर्णालीमा १ सय शय्याको ट्रमा सेन्टर बनाउन नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच शनिवार १३ बुँदे सम्झौता भएको छ ।

सम्झौतासँगै राकम कर्णालीमा बढीमा डेढ हप्ताभित्र एमबीबीएस डाक्टरले बिरामीको उपचार गर्न शुरू गर्ने भएका छन् ।सम्झौतामा आठबीस नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गराज उपाध्याय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट निर्देशक धर्मराज गोसाइंले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा सय शय्याको ट्रमा सेन्टर अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबीच समन्वय र सहकार्य हुनुपर्ने बताइएको छ । अस्पताल निर्माण र सञ्चालन हुँदा २ पक्षबीच शर्तको पालना गर्नुपर्ने गरी सम्झौता भएको छ ।
प्रदेश र संघीय सरकारसँग समन्वय गरी २ पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्वसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर प्रमुख उपाध्यायले बताए । उनका अनुसार ‘एक्सरे मशिन, ल्याब, लगायतका सामग्री र डाक्टरको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने भएको छ भने प्रतिष्ठानले डाक्टर र तलबको व्यवस्थापन गर्नेछ ।

‘अस्पताल भवनको लागत इस्टमेट सहितको डीपीआर नयाँ शहर आयोजनाले गर्नेछ,’ प्रमुख उपाध्यायले भने, ‘शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आए अछाम, दैलेख, कालिकोट लगाएत जिल्लाका नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेका छौं ।’

नगरपालिकाले अस्पतालका लागि ‘राकम कर्णालीमै कुन्टामा १०५ रोपनी सार्वजनिक जग्गा गत माघ २६ गतेको नगर सभाबाट नाममा गरिदिन नेपाल सरकारसँग माग गरी आवश्यक निर्णय पठाइसकिएको उनले बताए ।

प्रतिक्रिया